दाङ ९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–९ दोधरे स्थित एक ग्यारेजमा राखिएको सार्वजनिक बसमा शनिबार साँझ भीषण आगलागी भएको छ । शनिबार साँझ करिब ८ बजे तिर रा १ ख ३०३८ नम्बरको डिलक्स बसमा अचानक आगलागी हुँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुर का प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार आगलागी भएको बस भारत सम्म यात्रु ओसारपसार गर्ने डिलक्स बस हो । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबाट नजिकै पार्किङ गरिएको अर्को बसमा समेत सामान्य क्षति पुगेको छ । तर, अन्य सवारी साधनमा आगो फैलिन नपाएको प्रहरीले जनाएको छ । तुलसीपुरमा दमकलको व्यवस्था नहुँदा आगो नियन्त्रणमा लिन निकै कठिन भएको प्रहरी नायब उपरीक्षक पराजुलीले बताएका छन् । नजिकै रहेको जल सेवाको ट्याङ्करबाट पानी ल्याएर आगो निभाइएको थियो । करिब पौने १० बजेतिर मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटना भएको ग्यारेजमा अन्य सवारी साधन समेत रहेका थिए । आगलागी सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।