खानेपानीलाई सरसफाई र योगसाधनाको रूपमा विकास गर्ने परिकल्पना गरेका छाै : अध्यक्ष गिरी
भालुवाङ १० जेठ । दाङको राप्ती गाउँपालिका-३ मसुरियामा रहेको सिरिचाैर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुला गिरीले खानेपानीलाई सरसफाई र योगसाधनाको रूपमा विकास गर्ने बताएका छन् ।
समितिले आइतबार आफ्नै कार्यालयमा आयोजना गरेको सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै समितिका अध्यक्ष गिरीले मानवका लागि शुद्ध खानेपानी मात्र पर्याप्त नभई स्वस्थ जीवनशैलीका लागि सरसफाई र योग अभ्यासलाई पनि समुदाय स्तरमा विस्तार गर्न आवश्यक रहेको बताएका हुन् । अध्यक्ष गिरीले अहिले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच विस्तार हुँदै गए पनि नागरिकको स्वास्थ्य अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अबको अभियान “स्वच्छ पानी, स्वच्छ वातावरण र स्वस्थ शरीर” को अवधारणामा अघि बढाइने बताए । उनले भने, “शुद्ध खानेपानीले मात्रै पूर्ण स्वास्थ्य सुनिश्चित हुँदैन । त्यससँगै व्यक्तिगत सरसफाई, वातावरणीय सफाइ र नियमित योग अभ्यासलाई पनि जीवनशैलीमा जोड्न आवश्यक छ ।
त्यसैले समितिले आगामी दिनमा खानेपानीसँगै सरसफाई र योग साधनालाई एकीकृत रूपमा अगाडि बढाउने योजना बनाएको छ ।” उनले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम, योग प्रशिक्षण तथा सरसफाई अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । साथै अध्यक्ष गिरीले आगामी आर्थिक वर्षमा खानेपानी पाइपलाइन विस्तारका लागि राप्ती गाउँपालिकासँग बजेट माग गरिने जानकारी दिए । उनका अनुसार अहिले पनि केही बस्तीमा पर्याप्त सेवा पुग्न नसकेको अवस्था रहेकोले योजनाबद्ध रूपमा विस्तार अभियान सञ्चालन गरिनेछ । उनले स्थानीय सरकारसँग सहकार्य गरेर दिगो खानेपानी व्यवस्थापनमा जोड दिइने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले गर्मीयाम बढेसँगै खानेपानीको समस्या जटिल बन्दै गएको बताएका छन् । उनले लामो समयदेखि वर्षा नहुँदा विभिन्न मुहानहरू सुक्न थालेको र कतिपय बस्तीमा खानेपानीको अभाव देखिन थालेको उल्लेख गरे । “अहिले धेरै टोल र बस्तीमा पानीको समस्या देखिएको छ । मुहान सुक्दै जाँदा नागरिकले सास्ती भोग्नुपरेको अवस्था छ,” उनले भने, “त्यसैले खानेपानी नपुगेका बस्तीहरूमा प्राथमिकताका साथ पाइपलाइन विस्तार गर्न आवश्यक छ ।” वडा अध्यक्ष अधिकारीले नागरिकलाई सहज, सरल र सर्वसुलभ ढंगले शुद्ध खानेपानी उपलब्ध गराउन समितिलाई आग्रह गरे ।
उनले खानेपानी सेवा प्रभावकारी बनाउन स्थानीय सरकार आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए । साथै उनले संस्थागत पारदर्शिता, सेवाको गुणस्तर र उपभोक्ताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा समितिको विकास र संस्थागत सुदृढीकरणमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । समितिले निर्वतमान कार्यसमिति, सल्लाहकार तथा निर्वाचन समितिका सदस्य गरी २३ जनालाई सम्मानपत्र र खाँदा लगाएर सम्मान सहित बिदाई गरेको हो । सम्मानित व्यक्तिहरूलाई संस्थाको विकास, सेवा विस्तार र उपभोक्ताको हितका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको समितिले जनाएको छ ।
समितिका उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष अधिकारीले गरेका थिए । कार्यक्रममा उपभोक्ता, जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
