राप्तीमा शिक्षा र लेखा शाखा प्रमुख झण्डै एक महिना देखि बिदामा : सेवा प्रभावित, भुक्तानी पनि राेकियाे
देउखुरी ९ जेठ । दाङको राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख र लेखा शाखा प्रमुख झण्डै एक महिना देखि बिदामा बसेपछि पालिकाको नियमित कार्य सम्पादन प्रायः पूर्ण रुपले ठप्प भएको छ ।
पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक र लेखा शाखा प्रमुख लेखा भण्डारी अहिले पनि बिदामा बस्नु भएको छ । एकै पटक दुई महत्वपूर्ण शाखा प्रमुखहरु झण्डै एक महिना सम्म लामो बिदामा बसेपछि दुई वटै शाखाबाट प्रबाह हुने नियमित सेवाहरु समेत पूर्ण रुपले प्रभावित बनेको छ । शिक्षा शाखा प्रमुख विश्वास विक गएको बैशाख १६ गते देखि जेष्ठ ८ गते सम्म घर बिदा लिनु भएको छ । विक एकै पटक २४ दिन लामो बिदामा रहनु भएको राप्ती गाउँपालिका प्रशासन शाखाले जनाएको छ । उहाँ बिदामा गए संगै शिक्षा, युवा तथा खेलकुद शाखाका नियमित कार्य सम्पादनका सम्पूर्ण कार्यहरु पूर्ण रुपमा प्रभावित भएका छन् । संस्थागत विद्यार्थीको भर्ना शुल्क सहितको सुचना प्रकाशन गरेका विकले चौतर्फी आलोचनापछि उक्त शुल्क फिर्ता लिए संगै एकाएक २४ दिनको लामो घर बिदा लिनु भएको थियो । विकले संस्थागत विद्यालयको नयाँ भर्ना शुल्क समेत निधारण नगरी बिदामा बस्नु भएको हो । साथै शिक्षा, युवा तथा खेलकुद संग सम्बन्धी सम्पूर्ण कार्यहरु समेत प्रभावित बनेको छ ।
यता लेखा शाखा प्रमुख लेखा भण्डारी पनि झण्डै एक महिना देखि घर बिदा लिनु भएको छ । आर्थिक बर्षको अन्त्य तिर लेखा शाखा प्रमुख भण्डारी लामो बिदामा गएपछि योजना तथा कार्यक्रमका लाखौँ रकम रोकिएको छ । भण्डारी गएको बैशाख १४ गतेदेखि जेष्ठ ८ गते सम्म घर बिदामा रहनु् भएको राप्ती गाउँपालिका प्रशासन शाखाले जनाएको छ । लेखा शाखा प्रमुख २६ दिन देखि निरन्तर बिदामा रहनु भएको छ । जसले गर्दा भुक्तानी लगायत आर्थिक प्रशासनका सम्पूर्ण कार्यहरु पूर्ण रुपले ठप्प भएको छ । प्रत्येक बर्षको जेष्ठ र असारको १५ सम्म स्थानीय तहले चालु आर्थिक बर्षको योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्ने, आगामी आर्थिक बर्षका लागि निति तथा कार्यक्रम र बजेट तयार गर्ने समय हो । तर दुई दिनको अन्तरमा स्थानीय तहको एकदमै महत्वपूर्ण दुई वटा शाखा प्रमुखहरु एकाएक लामो बिदा लिएपछि पालिकाको नियमित कार्य सम्पादन पूर्ण रुपमा प्रभावित भएको छ । नियमित सेवा प्रभावित भए संगै दैनिक सेवा लिन आउने स्थानीय नागरिकहरु प्रत्यक्ष प्रभावित भएका छन् । पालिकाको नियमित कार्य ठप्प हुने गरी दुई शाखा प्रमुखहरु बिदा बस्नुलाई स्थानीय नागरिकहरुले पालिकालाई असफल बनाउने षड्यन्त्र भएको बताएका छन् ।
शिक्षा शाखा प्रमुख बिकले २०८२ साउन देखि २०८३ जेष्ठ सम्म विभिन्न मितिमा ९ पटक बिदा लिएको प्रशासन शाखाले जनाएको छ । जस मध्ये ७ पटक घर बिदा र २ पटक पर्व बिदा लिएको पालिकाले जनाएको छ । जसमा विभिन्न मितिमा गरी ५६ दिन घर बिदा लिएको र दुई पटक गरी ४ दिन पर्व बिदा लिएको पालिकाको प्रशासन शाखाले जनाएको छ । शिक्षा शाखा प्रमुख विकले २०८२ साउन देखि २०८३ जेष्ठ सम्म विभिन्न मितिमा ९ पटक सम्म विभिन्न बिदाहरु गरी ६० दिनको बिदा लिइसकेको पालिकाले जनाएको छ । विकले २०८२ साउन देखि २०८३ जेष्ठ सम्म कुन—कुन मितिमा, कति—कति, के—के बिदा लिनु भएको छ ? ०८२ कार्तिक १८ गतेदेखि २१ गते सम्म ४ दिन घर बिदा, मंसिर ११ गतेदेखि १८ गते सम्म ८ दिन घर बिदा, पुस १ गतेदेखि ३ गते सम्म ३ दिन पर्व बिदा, पुस मै ६ गतेदेखि ९ गते सम्म ४ दिन घर बिदा, पुस मै २४ र २५ गते २ दिन घर बिदा, फागुन ८ गते १ दिन पर्व बिदा, चैत १ गतेदेखि १० गते सम्म १० दिन घर बिदा, चैत मै २२ गतेदेखि २६ गते सम्म ५ दिन घर बिदा र २०८३ बैशाख १६ गतेदेखि जेष्ठ ८ गते सम्म २४ दिन घर बिदा गरी कुल ६० दिन बिदाको सुविधा लिएको पालिकाको प्रशासन शाखाले जानकारी दिएको छ ।
यस बिषयमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक संग बुझ्दा उनले निजामति सेवा ऐन २०४९ र निजामति सेवा निमावली २०५० अनुसार माग भई आएको बिदा स्वीकृत गरिएको बताए । उनले ऐनले नै निजामति कर्मचारीहरुलाई विभिन्न बिदा लिन पाउने व्यवस्था गरिएको र सोही अनुसार बिदा लिएको बताए । आर्थिक बर्षको अन्त्य तिर दुई वटै महत्वपूर्ण शाखा प्रमुखहरु लामो बिदा स्वीकृत गर्दा नियमित कार्य सम्पादनमा समस्या भयो नी ? भन्ने प्रश्नमा उनले ऐनले व्यवस्था गरे अनुसार कुनै पनि कर्मचारीले बिदा माग गरेको खण्डमा बिदा दिनुपर्ने अवस्था रहेको बिदा स्वीकृत गरिएको बताए । कार्य सम्पादनको समस्याको बिषयमा सम्बन्धित शाखा प्रमुखहरु नै जिम्मेवार बन्नु पर्ने समेत बताए ।
निजामति सेवा ऐन २०४९ र निजामति सेवा निमावली २०५० अनुसार प्रत्येक बर्ष निजामति कर्मचारीहरुले विभिन्न शिर्षकमा बिदा लिन पाउने कानुनी व्यवस्था रहेको छ । जस अनुसार प्रत्येक ३० दिन घर बिदा, ६ दिन भैपरि बिदा, ६ दिन पर्व बिदा, १२ दिन, बिरामी बिदा, महिलाहरुको हकमा प्रत्येक महिनाको १ दिन नियमित बिदा, महिला कर्मचारीहरुको हक ९८ दिन सुत्केरी बिदा, पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने अवस्थामा १५ दिन सुत्केरी स्याहार बिदा र १५ दिन किरयिा बिदा लगायत अन्य बिदाहरु समेत पाउने कानुनी व्यवस्था रहेको छ ।

