६ महिना अगावै बन्यो दोलाई खोलामा पुल : कम्पनीलाई स्थानीयहरुद्धारा नागरिक अभिनन्दन
भालुवाङ ७ जेठ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाट देखि देवीकोट हुँदै स्वर्गद्वारी जोड्ने दोलाईखोला पुल निर्माण कार्य तोकिएको समय भन्दा ६ महिना अगावै सम्पन्न भएपछि स्थानीय नागरिकहरूले निर्माण कम्पनी, प्राविधिक टोली तथा मजदुरहरूलाई भव्य नागरिक अभिनन्दन गरेका छन् ।

विकास निर्माणका काम ढिलासुस्ती र गुणस्तरहीनताका गुनासो भइरहने अवस्थामा समयअघि पुल निर्माण सम्पन्न हुनु स्थानीयका लागि गर्व र खुसीको विषय बनेको छ । मौरीघाट बजार व्यवस्थापन समिति तथा विभिन्न टोल विकास संस्थाहरूको अगुवाइमा बिहीबार पुलमै एक कार्यक्रमको आयोजना गरी निर्माण कम्पनी श्री नारायणम् निर्माण सेवा प्रालि नेपालगन्ज, कम्पनीका प्रतिनिधिहरू तथा निर्माणमा खटिएका मजदुरहरूलाई सम्मान गरिएको हो । बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेत तथा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरूले कम्पनीका साइड इन्चार्ज कृष्ण गिरी, इन्जिनियर झगबहादुर विक, साइड इन्चार्ज शिव चौधरी, निर्माण व्यवसायी महम्मत आलम सहित निर्माण कार्यमा खटिएका मजदुरहरूलाई सम्मान तथा अभिनन्दन गरेका थिए ।
कार्यक्रममा कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने प्रतिनिधि र मजदुरहरूलाई मायाको चिनोस्वरूप एक÷एक वटा टिसर्ट वितरण गरिएको थियो ।
स्थानीयहरूले विकास निर्माणका काममा इमानदारी, जिम्मेवारी र समयपालन देखाएको भन्दै निर्माण कम्पनीप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले “समयमै होइन, समयअघि सम्पन्न भएको पुलले विकासप्रति नागरिकको विश्वास बढाएको” बताएका थिए । मौरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोविन्दबहादुर केसीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा स्थानीय अगुवा, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

निर्माण कम्पनीका साइड इन्चार्ज कृष्ण गिरीका अनुसार पुल निर्माण कार्य लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय दाङको ५ करोड २६ लाख ७३ हजार ४ सय ५३ रुपैयाँ २४ पैसाको लागतमा सम्पन्न गरिएको हो । उनका अनुसार कम्पनीले २०८२ मंसिर १३ गते सम्झौता गरी २०८४ जेठ १३ गते भित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य पाएको थियो । तर निर्माण कम्पनीको सक्रियता, प्राविधिक समन्वय तथा स्थानीयको सहयोगका कारण निर्धारित समयभन्दा ६ महिना अगावै पुल निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए । गिरीका अनुसार पुलको लम्बाइ ४२ दशमलव ८७ मिटर तथा चौडाइ ११ मिटर रहेको छ । आधुनिक मापदण्ड अनुसार निर्माण गरिएको पुलले अब यस क्षेत्रको यातायात, व्यापार तथा सामाजिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

स्थानीयवासीहरूका अनुसार पुल निर्माण अघि उक्त खोलामा निकै साँघुरो पुल रहेको थियो । जसबाट मोटरसाइकल, अटो र पैदल यात्रुहरूलाई मात्र आवतजावत गर्न सहज भए पनि गाउँमा कोही बिरामी हुँदा एम्बुलेन्स पु¥याउन कठिन हुने, कृषि उत्पादन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न समस्या हुने जस्ता चुनौतीहरू थिए । वर्षायाममा झन् जोखिम बढ्ने गरेको स्थानीयहरूको अनुभव छ । अब नयाँ पुल निर्माण भएसँगै ती समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आएपछि राप्ती गाउँपालिका वडा नम्बर ४ र ९ का नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । स्थानीय कृषकहरूले आफ्नो उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन सक्ने भएका छन् भने बिरामीलाई अस्पताल लैजान, विद्यार्थीलाई विद्यालय आउजाउ गर्न तथा दैनिक व्यापारिक गतिविधि सञ्चालन गर्न पनि सहज हुने भएको छ । स्थानीय व्यवसायीहरूले पुल निर्माणसँगै मौरीघाट क्षेत्रको आर्थिक गतिविधि थप चलायमान हुने विश्वास व्यक्त गरेका छन् ।

