राप्ती आधारभूत अस्पतालमा एकै दिन १२६ जनाले सेवा लिए
देउखुरी ६ जेठ । दाङको राप्ती गाउँपालिका–५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा एकै दिन १२६ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले सार्वजनिक गरेको दैनिक सेवा प्रवाह विवरण अनुसार जेठ ५ गते विभिन्न स्वास्थ्य सेवा अन्तर्गत उक्त संख्यामा बिरामी तथा सेवाग्राहीले सेवा लिएका हुन् ।
अस्पतालको तथ्यांक अनुसार सबैभन्दा बढी ६७ जनाले बहिरङ्ग (OPD) सेवा लिएका छन् । यस्तै अन्तरङ्ग (IPD) सेवामा २ जना, आकस्मिक सेवामा ९ जना तथा ड्रेसिङ सेवामा ६ जनाले सेवा प्राप्त गरेका छन् । त्यसैगरी प्रसुती सेवाबाट १ जना लाभान्वित भएका छन् भने ल्याब सेवामा २५ जना, एक्स–रे सेवामा ९ जना, ECG सेवामा २ जना र भिडियो एक्सरे (USG) सेवामा ५ जनाले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले दैनिक रुपमा सेवा प्रवाहको विवरण सार्वजनिक गर्न सुरु गरेकाे छ । स्थानीय नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालले विभिन्न स्वास्थ्य सेवा नियमित रुपमा सञ्चालन गर्दै आएको अस्पताल प्रशासनको भनाइ रहेकाे छ ।

