व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन : मुख्यमन्त्री आचार्य
रुपन्देही ३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने भन्दै संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका कारण हतोत्साहित हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताए । उनले प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सधैं साथमा रहने विश्वास दिलाए । मुख्यमन्त्री आचार्यले व्यवसायीप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उद्योगका लाइन काटिएको समयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप लम्बिने अवस्था आउने बताए । उनले सातै प्रदेश र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधान गरिएको स्मरण गरे । उनले उद्योगी तथा व्यवसायीका समस्याका विषयमा संघीय सरकारसँग निरन्तर छलफल गरिने पनि बताए ।
‘व्यवसायीहरुलाई थुनेर, हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन । बदमासी भएका छन् भने कानुनी रुपमा दण्डित गर्न सकिन्छ । तर, सिंगो व्यवसाय क्षेत्रलाई नै हतोत्साहित बनाउने गरी धरपकड गर्नु मुलुकका लागि राम्रो हुँदैन,’ उनले भने ।
मुख्यमन्त्री आचार्यले अहिले नै निजी क्षेत्र समस्यामा रहेको अवस्थामा थप धरपकडको वातावरण बने निजी क्षेत्र नै धरासायी हुने खतरा रहेको बताए । निजी क्षेत्रलाई चलायमान बनाउन नसकिए मुलुकको आर्थिक अवस्था झन् कमजोर बन्ने उनको भनाइ थियो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले निजी क्षेत्रको लगानी बढाउने र व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए ।‘निजी क्षेत्रलाई उत्साहित बनाउने गरी प्रदेश सरकारले योजना बनाउँदैछ । यहाँहरुसँग बसेर योजना समावेश गरिनेछ,’उनले भने,‘स्थानीय उत्पादन वृद्धि, उद्यमशीलताको प्रवद्र्धन र बजार सुनिश्चितताका लागि निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार छ ।’ उनले युवालाई आकर्षित गर्ने र निजी क्षेत्रलाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रमसमेत प्रदेश सरकारले ल्याउने स्पष्ट पारेका छन् ।
