स्थानीय तहसम्म मौसम पूर्वानुमान पु¥याउन सहभागीहरुकाे जोड



स्थानीय तहसम्म मौसम पूर्वानुमान पु¥याउन सहभागीहरुकाे जोड

भालुवाङ २ जेठ । दाङको देउखुरीमा आयोजित एक कार्यक्रममा सहभागीहरूले स्थानीय तहसम्म मौसम पूर्वानुमानको जानकारी प्रभावकारी रूपमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।

किसान तथा सर्वसाधारणलाई सही समयमा भरपर्दो सूचना उपलब्ध गराउन स्थान विशेष मौसम पूर्वानुमान आवश्यक रहेको उनीहरूको भनाइ थियो । शनिबार राप्ती गाउँपालिका–१ भालुवाङमा रेडियो गुर्वावा एफएम बर्दियाले आयोजना गरेको ‘मौसम मन्थन’ कार्यक्रममा सहभागी वक्ताहरूले मौसम विभागले प्रदेश र जिल्लास्तरमा मात्रै पूर्वानुमान सार्वजनिक गर्दा कतिपय अवस्थामा अनुमान नमिल्ने र त्यसले किसानहरूलाई त्रासमा बस्नुपर्ने अवस्था सिर्जना हुने बताएका हुन् । उनीहरूले पहिलेको तुलनामा मौसम सम्बन्धी सूचनामा केही सुधार आए पनि अझ प्रभावकारी बनाउन स्थानीय तहसम्म सहज पहुँच आवश्यक रहेको सुझाव दिएका थिए । कार्यक्रममा सहभागीबाट उठेका सवाललाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौसम पूर्वानुमान तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताए । उनले स्थान विशेष मौसम पूर्वानुमानलाई प्राथमिकतामा राख्दै संघीय सरकारसँग सहकार्य गरिने उल्लेख गरे  । मुख्यमन्त्री आचार्यले मौसम सम्बन्धी सूचना समयमै नागरिकसम्म पु¥याउन प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताउँदै किसानसम्म दैनिक मौसम सूचना पु¥याउन स्थानीय सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा समुदायस्तरका संरचनालाई परिचालन गरिने जानकारी दिए ।

उनले जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै मौसम पूर्वानुमान सम्बन्धी सूचनाको बुझाइमा एकरूपता आवश्यक रहेको बताए । पूर्व सतर्कताका लागि प्रदेश सरकारले विभिन्न निकायसँग समन्वय गर्दै आएको उनको भनाइ थियो । हाल नेपालगञ्ज र भैरहवास्थित मौसम पूर्वानुमान कार्यालयमार्फत सूचना प्रवाह भइरहेको उल्लेख गर्दै उनले ती कार्यालयबाट प्राप्त सूचना प्रदेशका सबै स्थानीय तहसम्म पु¥याउन प्रदेश सरकारले आवश्यक समन्वय गर्ने बताए । मौसम पूर्वतयारीका काममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, १२ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा स्थानीय तहसँग सहकार्य भइरहेको जानकारी पनि उनले दिए । मुख्यमन्त्री आचार्यले मौसम सम्बन्धी सूचना भरपर्दो र व्यवहारिक बनाउन स्थानीय तहले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । समुदाय परिचालन, स्वयंसेवक तयारी तथा विपद् कार्ययोजनामार्फत पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको उनको भनाइ थियो ।

त्यसैगरी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थी ले मौसम पूर्वानुमानको जानकारी वेबसाइट, सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत प्रवाह भइरहेको बताए । उनले नागरिकको हातहातमा सूचना पु¥याउन मोबाइल एसएमएस तथा अडियो सन्देश प्रणालीमार्फत सूचना पठाउने तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा दाङ र बर्दियाका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रेडियोकी कार्यक्रम प्रस्तोता विन्दु चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे