लिटिल एन्जल्स स्कुलद्धारा एसईईमा देउखुरीकै सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरु सम्मानित
भालुवाङ ३ जेठ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ स्थित लिटिल एन्जल्स स्कुलले एसईई २०८२ मा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै देउखुरी क्षेत्रमा आफूलाई अब्बल विद्यालयका रूपमा स्थापित गरेको छ ।
विद्यालयले आइतवार एक विशेष कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी, अभिभावक तथा विषयगत शिक्षकहरुलाई सम्मान गरेको छ । यस वर्षको एसईई परीक्षामा विद्यालयका विद्यार्थी सन्देश सुवेदीले ३.९६ जिपिए प्राप्त गर्दै देउखुरी क्षेत्रमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । विद्यालयका अनुसार एसईईमा सहभागी सबै १८ जना विद्यार्थी उत्कृष्ट अंक सहित उत्तीर्ण भएका छन् । विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकहरुको संयुक्त मेहनत र समन्वयकै कारण यस्तो गौरवपूर्ण उपलब्धि हासिल भएको जनाएको छ । सम्मान कार्यक्रममा विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उनीहरुका अभिभावक तथा अध्यापनमा योगदान पु¥याउने शिक्षकहरुलाई टिका, खादा तथा मायाको चिनो प्रदान गरेर सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा शेयर सञ्चालक समितिका अध्यक्ष जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले अनुशासित अध्ययन, शिक्षकहरुको निरन्तर मेहनत र अभिभावकहरुको सहयोगले उत्कृष्ट नतिजा सम्भव भएको बताएका थिए ।
वक्ताहरुले विद्यालयले समय–समयमा अभिभावक, शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया तथा छलफल गर्दै सुधार गर्नुपर्ने पक्षमा विशेष ध्यान दिएकै कारण शैक्षिक गुणस्तरमा निरन्तर सुधार आएको उल्लेख गरे । उनीहरुले पछिल्लो समय निजी विद्यालयहरुबीच बढ्दो प्रतिस्पर्धाका बीच लिटिल एन्जल्स स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई सफल विद्यालयका रूपमा स्थापित गरेको धारणा व्यक्त गरे । कार्यक्रममा अभिभावक तुलसीराम सुवेदी, विद्यालयका प्रधानाध्यापक शोभाखर भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ता, विद्यार्थी सन्देश सुवेदी, अञ्जना थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले विद्यालयले शैक्षिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिएका थिए । विद्यालयका शिक्षक आनन्द लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गोविन्दप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो ।
विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार सन्देश सुवेदीले ३.९६ जिपिए ल्याएर सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन् । त्यसैगरी बालकृष्ण खत्रीले ३.७८, सिद्धार्थ थापाले ३.७६, भेषराज भुसालले ३.७४, अञ्जना थापाले ३.६९, वसन्त अर्यालले ३.६७, ईमोम ढकालले ३.६७, ज्योति रानाले ३.६७, दिलिप मरासिनीले ३.६५ र मनिष जैसीले ३.६५ जिपिए ल्याएर उत्कृष्ट सफलता हासिल गरेका छन् । त्यस्तै अस्मिता सुवेदीले ३.४०, कृत्रिका अर्यालले ३.३९, ममता भण्डारीले ३.३०, शिशिर सुनारले ३.३०, सिताष्मा केसीले ३.२९, आशिष रोकामगरले ३.२०, रितिका क्षेत्रीले ३.१४ र रेवस केसीले ३.१३ जिपिए ल्याएर उत्तीर्ण भएका छन् । विद्यालय प्रशासनका अनुसार पूर्वमा देउखुरी भ्याली पब्लिक स्कूलको नामबाट सञ्चालन हुँदै आएको विद्यालय हाल लिटिल एन्जल्स स्कुलका रूपमा सञ्चालनमा रहेको छ । नाम परिवर्तनपछि विद्यालयले निरन्तर शैक्षिक सुधारमा ध्यान दिँदै आएको छ । विद्यालयले विगत ८ वर्षदेखि एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल हुँदै आएको जनाएको छ ।
स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउन सफल भएको भन्दै विद्यालयप्रति अभिभावकहरुको विश्वास समेत बढ्दो क्रममा रहेको छ । पछिल्ला वर्षहरुमा विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको बताइएको छ । एसईई २०८२ को नतिजाले विद्यालयलाई मात्र नभई समग्र देउखुरी क्षेत्रलाई नै गौरवान्वित बनाएको स्थानीयवासीहरुले बताएका छन् । विद्यार्थीहरुको मेहनत, शिक्षकहरुको समर्पण र अभिभावकहरुको साथले प्राप्त यो सफलता आगामी पुस्ताका लागि समेत प्रेरणादायी बनेको छ ।
