राप्तीमा नसर्ने रोग भयावह बन्दै : खानपान र स्वास्थ्य परिक्षणमा ध्यान दिन सुझाव



राप्तीमा नसर्ने रोग भयावह बन्दै : खानपान र स्वास्थ्य परिक्षणमा ध्यान दिन सुझाव

भालुवाङ ३ जेठ । दाङको राप्ती गाउँपालिकामा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको पाइएको छ । पछिल्लो समय खानपान, तनाव, शारीरिक गतिविधिको कमी तथा नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीका कारण मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला सम्बन्धी समस्याका बिरामीहरु तीव्र रुपमा बढ्न थालेका छन् ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले दिएको जानकारी अनुसार पालिकाका विभिन्न २५ स्थानमा गरिएको निशुल्क स्वास्थ्य परीक्षणमा ६ हजार ९ सय १४ जनाको स्वास्थ्य परीक्षण गर्दा ठूलो संख्यामा नसर्ने रोगका बिरामी फेला परेका हुन् । स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार परीक्षण गरिएका मध्ये ४ हजार ४ सय ५८ जना महिला र २ हजार ४ सय ५४ जना पुरुष रहेका थिए । परीक्षणका क्रममा मात्रै २ हजार २५ जनामा उच्च रक्तचाप, ८ सय १८ जनामा मधुमेह तथा १ हजार १ सय ३८ जनामा पिसाब सम्बन्धी समस्या देखिएको स्वास्थ्य शाखाले जनाएको छ । यसले राप्ती क्षेत्रमा नसर्ने रोगको जोखिम तीव्र गतिमा बढ्दै गएको संकेत गरेको स्वास्थ्य शाखा प्रमुख राउतले बताएका छन् । स्वास्थ्य शाखा प्रमुख राउतले पछिल्लो समय दुर्गम भन्दा सुगम क्षेत्रमा नसर्ने रोग तीव्र रुपमा फैलिन थालेको बताए । उनका अनुसार नागरिकहरुले समयमै स्वास्थ्य परीक्षण नगर्ने, खानपानमा लापरवाही गर्ने तथा शारीरिक श्रम कम गर्न थालेका कारण रोगको जोखिम बढेको हो । उनले गाउँपालिकाले समुदायस्तरमै पुगेर नियमित रुपमा स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । “समयमै परीक्षण गरे धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ,” उनले भने, “तर अधिकांश नागरिक स्वास्थ्यमा समस्या देखिएपछि मात्रै अस्पताल पुग्ने प्रवृत्ति अझै पनि कायम छ ।”

राप्ती आधारभूत अस्पताल सिसहनियाँका मेडिकल अफिसर डा. रञ्जित घिमिरेले पछिल्लो समय बदलिएको जीवनशैली नै नसर्ने रोगको प्रमुख कारण बनेको बताए । उनका अनुसार अत्यधिक चिल्लो तथा विषादीयुक्त खाना सेवन, पर्याप्त निद्राको कमी, मानसिक तनाव, मदिरा तथा धूमपानको प्रयोग र नियमित व्यायाम नगर्ने बानीले मधुमेह तथा उच्च रक्तचापका बिरामी बढेका छन् । डा. घिमिरेले नसर्ने रोगलाई समयमै नियन्त्रण नगरे मुटु, मिर्गौला, मस्तिष्क तथा आँखामा गम्भीर असर पर्ने चेतावनी दिए । उनले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित भोजन, दैनिक व्यायाम तथा तनाव व्यवस्थापनमा ध्यान दिन नागरिकहरुलाई आग्रह गरे ।

यसैबीच विश्व उच्च रक्तचाप दिवसको अवसरमा आइतबार राप्ती गाउँपालिका–५ सिसहनियाँमा निशुल्क नसर्ने रोग परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । “उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ ः नियमित रक्तचाप जाँचौँ, मौन घातकलाई पराजित गरौँ” भन्ने नारा सहित सिसहनियाँ उद्योग वाणिज्य संघको समन्वयमा राप्ती गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उद्योगी, व्यापारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । शिविरमा २८ जना महिला र ५१ जना पुरुष गरी कुल ७९ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । परीक्षणका क्रममा १० जनामा मधुमेह, १५ जनामा उच्च रक्तचाप तथा १२ जनामा पिसाब सम्बन्धी समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।

शिविरमा सहभागीहरुको मधुमेह परीक्षण, रक्तचाप परीक्षण, मिर्गौला रोगको प्रारम्भिक पहिचानका लागि पिसाब परीक्षण तथा उचाइ–तौलका आधारमा बीएमआई मापन गरिएको थियो । साथै मुटु रोग, उच्च रक्तचाप तथा मधुमेहबाट बच्ने उपाय, स्वस्थ खानपान, नियमित व्यायाम र समय–समयमा स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी समेत प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रकाश विष्टले उच्च रक्तचापलाई “मौन घातक” रोगको संज्ञा दिँदै यसको समयमै परीक्षण र उपचार आवश्यक रहेको बताए । उनले पछिल्लो समय अस्वस्थ खानपान, मानसिक तनाव तथा शारीरिक गतिविधिको कमीका कारण नसर्ने रोगका बिरामी बढ्दै गएको उल्लेख गरे । अध्यक्ष विष्टले समुदायस्तरमै स्वास्थ्य सचेतना फैलाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै नागरिकहरुलाई नियमित स्वास्थ्य जाँच गर्न आग्रह गरे । “रोग लागिसकेपछि उपचारभन्दा रोग लाग्न नदिनु नै महत्वपूर्ण हो,” उनले भने, “त्यसैले सबै नागरिकले समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।”

धेरै नागरिक आर्थिक अभाव तथा चेतनाको कमीका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने अवस्था रहेको भन्दै यस्ता शिविरलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार नसर्ने रोग अहिले नेपालका ग्रामीण क्षेत्रमा समेत ठूलो चुनौतीका रुपमा देखिन थालेको छ । विशेषगरी मधुमेह, उच्च रक्तचाप, मिर्गौला तथा मुटु सम्बन्धी रोग बढ्दै गएकाले समयमै सचेतना र परीक्षण आवश्यक रहेको उनीहरुको भनाइ छ । राप्ती गाउँपालिकाले आगामी दिनमा पनि समुदायस्तरमै पुगेर स्वास्थ्य परीक्षण, जनचेतनामूलक कार्यक्रम तथा नसर्ने रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे