दाङ क्षेत्र नम्बर १ मा भट्टराई कुलवंश प्रतिष्ठान गठन : अध्यक्षमा टोपाराम भट्टराई सर्वसम्मत चयन



दाङ क्षेत्र नम्बर १ मा भट्टराई कुलवंश प्रतिष्ठान गठन : अध्यक्षमा टोपाराम भट्टराई सर्वसम्मत चयन

देउखुरी २ जेठ । दाङ क्षेत्र नम्बर १ मा भट्टराई कुलवंश प्रतिष्ठानको नयाँ समिति गठन गरिएको छ ।

भट्टराई समुदायलाई संगठित गर्दै आपसी एकता, सामाजिक सद्भाव र संस्कार संरक्षण गर्ने उद्देश्यका साथ जिल्ला समिति दाङको आयोजनामा शनिवार लमही नगरपालिका–१ नर्तीमा सम्पन्न अधिवेशनले टोपाराम भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद भट्टराई, महिला उपाध्यक्षमा बालिका भट्टराई, सचिवमा खिमानन्द भट्टराई, सहसचिवमा जीवराज भट्टराई तथा कोषाध्यक्षमा शरद भट्टराई सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा गंगाराम भट्टराई, रामप्रसाद भट्टराई, बसन्ता भट्टराई, विष्णा भट्टराई, बामदेव भट्टराई, दुर्गाप्रसाद भट्टराई, रेशम भट्टराई, ऋषिराम भट्टराई र ताराप्रसाद भट्टराई चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

दाङ जिल्ला अध्यक्ष दधिराम भट्टराईको अध्यक्षता तथा भट्टराई कुलवंश प्रतिष्ठान बुद्धिजीवी परिषद्का केन्द्रीय सहसंयोजक कमलप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको होे । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले समुदायको संगठित प्रयासले सामाजिक विकास, शैक्षिक उन्नति तथा आपसी सहयोगको भावना बलियो बन्ने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठानलाई केवल औपचारिक संगठनका रूपमा नभई सामाजिक उत्तरदायित्व बहन गर्ने साझा अभियानका रूपमा अगाडि बढाउनुपर्ने बताए । उनले देश तथा विदेशमा रहेका भट्टराई समुदायबीच समन्वय गर्दै वंशावली संरक्षण, सामाजिक सहयोग र सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । “हाम्रो पहिचान र इतिहासलाई पुस्तान्तरण गर्न सकिएन भने समाजको मौलिकता हराउन सक्छ,” उहाँले भन्नुभयो, “त्यसैले सबैलाई एकजुट बनाएर अघि बढ्न आवश्यक छ ।”

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष टोपाराम भट्टराईले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले प्रतिष्ठानलाई सबैको साझा संस्था बनाउँदै समुदायको हितमा काम गर्ने बताए । “हामी केवल संगठन निर्माण गरेर मात्र रोकिने छैनौं,” अध्यक्ष भट्टराईले भने, “समुदायका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने, युवापुस्तालाई संस्कारसँग जोड्ने तथा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य हुनेछ ।” उनले दाङ क्षेत्र नम्बर १ भित्र रहेका भट्टराई परिवारलाई एकताबद्ध बनाउने, आवश्यक तथ्यांक संकलन गर्ने तथा समुदायका ज्येष्ठ नागरिकको सम्मान गर्ने योजना समेत अगाडि सारे । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले भट्टराई समुदायलाई एकताबद्ध बनाउँदै नयाँ पुस्तालाई आफ्नो इतिहास, परम्परा र संस्कारसँग जोड्न आवश्यक रहेकोमा जोड दिएका थिए । वक्ताहरूले पछिल्लो समय समाजमा पारिवारिक तथा सामाजिक सम्बन्ध कमजोर बन्दै गएको सन्दर्भ उल्लेख गर्दै समुदायबीच आपसी सहकार्य र सांस्कृतिक पहिचान जोगाउन यस्ता संगठनको आवश्यकता अझ बढेको बताएका थिए । उनीहरूले परम्परा, संस्कार र सामाजिक मूल्य मान्यताको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचानबारे जानकारी गराउनु अहिलेको मुख्य चुनौती रहेको धारणा राखेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य मुक्तिराम भट्टराई, प्यूठान–दाङ वंशावली संयोजक विष्णुप्रसाद भट्टराई, दाङ जिल्ला महिला उपाध्यक्ष सुशिला भट्टराई, पूर्व जिल्ला उपाध्यक्ष गंगाराम भट्टराई, समाजसेवी तथा बुद्धिजीवी आत्माराम भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राजेन्द्र भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सह–सचिव मुकुन्द भट्टराईले गरेका थिए । कार्यक्रममा दाङ, देउखुरी क्षेत्रबाट भट्टराई समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे