पंक्षी संरक्षणका लागि वन जोगाउन आवश्यक छ : मन्त्री कलवार
देउखुृरी २९ बैशाख । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले पशुपंक्षी संरक्षणका लागि वन संरक्षण नितान्त आवश्यक रहेको बताएका छन् । वर्ड लाईफ इन्टरनेशनलको सहयोगमा नेपाल पंक्षी संरक्षण संघद्वारा संचालित देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चराहरूको संरक्षणहरूका लागि स्थानीय सरकार र समुदायको संलग्नतामा संचालित परियोजना अन्तरगत आज सोमबार दाङको भालुवाङमा आयाजित महत्वपूर्ण चरा तथा जैविक विविधता संरक्षणका लागि नितिगत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

मन्त्री कलवारले पछिल्लो समय आगन्तुक तथा रैथाने चरानहरु संकटमा पर्नु दुखद भएको बताउँदै संरक्षणका लागि सबै पक्ष थप जिम्मेवार हुन आवश्यक रहेको बताए । उनले चराहरुको संरक्षणका लागि सामुदायिक वनहरुमा कृत्रिम तालतलैया निर्माण गर्नुका साथै चराहरुको बास स्थानमा मानवीय कृयाकलाप नियन्त्रण गर्नूपर्ने बताए । मन्त्री कलवारले चराहरुको संरक्षणका लागि सुक्ष्म अध्ययन आवश्यक रहेको बताउँदै हानिकारक बिसादी बिक्रीबितरण देखि प्रयोगमा कडाईका साथ नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

नेपाल पंक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इशाना थापाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारको प्रम्ख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती दाङका प्रमुख नित्यानन्द शर्माले जथाभावी गरिने विकास निर्माण तथा मानवीय कृयाकलाप नियन्त्रण गर्न आवश्यक रहेको बताए । साथै उनले अब देउखुरीका चार वटा पालिकाहरुले पंक्षी संरक्षण तथा थप अध्ययनका लागि बजेट सहितका कार्यक्रम ल्याउन आग्रह गरे ।
.jpeg)
यस्तै जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले पंक्षी संरक्षणको बिषयलाई महत्वका साथ लिन नसक्नु नै सबै भन्दा दुखद बिषय भएको बताए । उनले चराचुरुङ्गीहरुले किरा फट्याङग्रा खाएर किसानलाई सहयोग गरेको भन्दै समुदायस्तरमा चरा संरक्षणका बिषयमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताए । प्रमुख चापागाईले समुदाय र तीन तहका सरकार बीच आपसी समन्वय आवश्यक रहेको बताए । उनले त्यसका लागि सरकारले ठोस निति, कार्यक्रम र कानुन नै बनाएर लाग्नु पर्ने धारणा राखे ।

यस्तै लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले पछिल्लो समय आगन्तुक चराको संख्या बढ्नु निकै सुखद बिषय रहेपनि चराहरुको बासस्थान बिनास हुँदै जानु निकै दुखद बिषय रहेको बताए । उनले चरा संरक्षणका लागि समुदायस्तरका नागरिकहरुलाई थप जिम्मेवार बनाउन आवश्यक रहेको धारणा राखे । साथै सचिव भट्टराईले चराका बिषयमा अध्ययन भएका डकुमेन्ट प्रदेश सरकारलाई उपलब्ध गराउन आग्रह गर्दै सोही अनुसार आगामी बर्षका लागि निति, कार्यक्रम र बजेट नै बिनियोजन गरेर कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।
.jpeg)
कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले मानवहरु दानब भए कै कारण चराहरु संकटमा परेको बताइन् । उनले चरा संरक्षणका बिषयमा कार्यक्रम मात्र गरेर नभई मानिसले आफ्नो आनीबानी सु्धार गर्न आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावत, राष्ट्रिय स्वतन्त्र पार्टीका दोर्णबहादुर जिसी, नेकपा एमालेका रतनकुमार केसी, डिभिजन वन कार्यालय देउखुरीका गणेशबहादुर खड्का लगायतका बक्ताले आ—आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले नेपालमा आगन्तुक चरा र रैथाने चराको अवस्था र संघले देशभर सञ्चालन गरेका कार्यहरु लगायतका बिषयमा प्रस्तुतिकरण गरेका थिए भने संघकै कोडिनेटर आनन्द चौधरीले आगन्तुक विदेशी चराहरुको बासस्थान, चराहरुको बिगत तथा वर्तमान अवस्था र भावी रणनिति लगायतका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।

यस्तै संघका परियोजना अधिकृत भुपाल नेपालीले सञ्चालित परियोजनाको उपलब्धि, अहिले सम्मका कृयाकलाप, अगामी योजना, संरक्षण, चरा गणना, चराहरको संख्या र चराहरुको पछिल्लो अवस्था लगायतका बिषयमा भएका प्रयास लगायतका बिषयमा प्रस्तुतिकरण गर्नुका साथै कार्यक्रमको सहजीकरण समेत गरेका थिए ।






