विपद व्यवस्थापनमा सबै क्षेत्रको सहकार्य अपरिहार्य छ : अध्यक्ष विष्ट



दाङ २६ वैशाख । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरकारसँगै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताएका छन् ।

राप्ती गाउँपालिकाको आयोजना, युनिसेफको सहयोग तथा सिडिएम नेपालको समन्वयमा शुक्रबार दाङको राप्ती गाउँपालिका–३ मसुरियामा आयोजित “स्थानीय विपद व्यवस्थापन समिति, बाल तथा युवा सञ्जालका प्रतिनिधिहरूका लागि बामैत्री पूर्वचेतावनी प्रणाली सम्बन्धी एकदिने क्षमता विकास, छलफल तथा परामर्श कार्यक्रम” मा बोल्दै अध्यक्ष विष्टले यस्तो बताएका हुन् । उनले विपद व्यवस्थापन केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई समुदाय, नागरिक समाज, गैरसरकारी संस्था, विद्यालय, युवा तथा बालबालिकासम्मको साझा दायित्व भएको उल्लेख गरे । “विपदका घटना जुनसुकै बेला र जहाँसुकै हुन सक्छन् । सरकारले मात्र चाहेर सबै कुरा सम्भव हुँदैन । त्यसैले समुदायस्तर देखि सबै पक्षको सक्रिय सहभागिता र सहयोग अपरिहार्य छ,” अध्यक्ष विष्टले भने ।उनले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो, आगलागी, हावाहुरी तथा चट्याङ जस्ता विपदका घटनामा वृद्धि भइरहेको उल्लेख गर्दै समयमै सूचना प्रवाह, पूर्वतयारी र समुदायस्तरको सचेतना अभिवृद्धिले ठूलो क्षति हुनबाट बचाउन सकिने बताए ।

अध्यक्ष विष्टले बालबालिका र युवालाई विपद व्यवस्थापनको मुख्य साझेदारका रूपमा लिनुपर्ने धारणा राखे । “बालमैत्री पूर्वचेतावनी प्रणालीले बालबालिकालाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्छ । विपद आउनुअघि नै जानकारी प्राप्त भयो भने जोखिम कम गर्न सकिन्छ,” उनले भने । उनले राप्ती गाउँपालिकाले विपद व्यवस्थापनलाई प्राथमिकतामा राखेर विभिन्न सचेतनामूलक कार्यक्रम, क्षमता विकास तालिम, उद्धार तथा राहत व्यवस्थापन लगायतका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । स्थानीय तहमा विपद प्रतिकार्य संयन्त्रलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले विभिन्न साझेदार संस्थासँग सहकार्य गर्दै आएको पनि उनले बताए ।

कार्यक्रममा डम्बर बोहराले बामैत्री पूर्वचेतावनी प्रणालीको अवधारणा, यसको आवश्यकता र प्रभावकारिताबारे सहजीकरण गरेका थिए । उनले बालबालिकालाई केन्द्रमा राखेर तयार गरिने पूर्वचेतावनी प्रणालीले विपदको समयमा उनीहरूको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने बताए । उनका अनुसार समुदायस्तरमा समयमै सूचना आदानप्रदान गर्ने प्रणाली विकास गर्न सके विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ । उनले स्थानीय तह, विद्यालय, अभिभावक, बाल क्लब तथा युवा सञ्जालबीच समन्वय आवश्यक रहेकोमा जोड दिए ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि प्रकाश डाँगीले विपदको समयमा समुदायस्तरमा गरिनुपर्ने तयारी, प्राथमिक उद्धार, सुरक्षित स्थानको पहिचान तथा सूचना व्यवस्थापनका विषयमा सहजीकरण गरेका थिए । उनले विपदका घटनामा सबैभन्दा बढी जोखिममा बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू पर्ने भएकाले उनीहरूलाई केन्द्रमा राखेर पूर्वतयारी गर्नुपर्ने बताए । “पूर्वचेतावनी प्रणाली प्रभावकारी भएमा धेरै जनधनको क्षति कम गर्न सकिन्छ । समुदाय आफैं सचेत र तयार हुनुपर्छ,” डाँगीले बताए ।

कार्यक्रममा सहभागी स्थानीय विपद व्यवस्थापन समिति, बाल तथा युवा सञ्जालका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका विपदजन्य जोखिम, चुनौती तथा समाधानका उपायबारे छलफल गरेका थिए । सहभागीहरूले समुदायस्तरमा अझ बढी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, विद्यालयस्तरमा विपद शिक्षा विस्तार गर्नुपर्ने तथा पूर्वचेतावनी प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा विपद आउनुअघि गरिनुपर्ने तयारी, सुरक्षित उद्धार, राहत व्यवस्थापन, बालमैत्री सुरक्षित स्थल निर्माण, सूचना प्रवाह प्रणाली तथा समुदायमा अपनाउनुपर्ने सावधानीका विषयमा अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो  ।गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुभाष भट्टराईले गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल तथा युवा सञ्जालका सदस्य, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे