दाङको राप्तीमा धेरै गहुँ उत्पादन गर्ने कृषक छनोट : लक्ष्मी उलुङगे प्रथम
भालुवाङ २६ वैशाख । दाङको राप्ती गाउँपालिकाले धेरै गहुँ उत्पादन गर्ने कृषक छनोट गरेको छ।
उत्कृष्ट गहुँ उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्न नगद पुरस्कार सहितको कृषक सम्मान गर्ने उद्देश्यले धेरै गहुँ उत्पादन गर्ने कुषक छनोट गरेको हो। पालिकाले उत्कृष्ट कृषक पुरस्कार छनोट समितिको वैशाख १४ गते बसेको बैठकले कृषकलाई प्रोत्साहन गर्न नगद पुरस्कार दिने गरी कृषक छनोट गर्ने निर्णय गरेको हो । राप्ती गाउँपालिका-९ का लक्ष्मी उलुङगे प्रथम, वडा नं. ६ का धनराज चौधरी द्वितीय, वडा नं. ६ का सुकदेव चौधरी तृतीय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिए।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०६३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रति इकाइ क्षेत्रफलमा सबैभन्दा बढी गँहु उत्पादन गर्ने कृषकलाई छनोट गरेको जनाएको छ। स्थानीय तहले कृषि उत्पादन वृद्धि तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम अघि बढाएको राप्ती गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका कृषि विकाश शाखा प्रमुख बरसाती गडरियाका अनुसार गहुँ उत्पादन बढाउन कृषकलाई आधुनिक खेतीतर्फ आकर्षित गर्न ‘कृषक सम्मान कार्यक्रम’ सञ्चालन गर्न लागिएको हो। कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र गहुँ खेती गर्ने कृषक मध्ये उत्पादनका आधारमा उत्कृष्ट कृषक छनोट गरी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने कृषकलाई नगद पुरस्कार प्रदान गरिने शाखा प्रमुख गडरियाले जानकारी दिए। उनका अनुसार पहिलो हुने कृषकलाई १२ हजार रुपैयाँ, द्वितीय हुनेलाई १० हजार रुपैयाँ र तृतीय हुने कृषकलाई ८ हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिने व्यवस्था गरिएको छ।
गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन गरेर उत्कृष्ट कृषक छनाैट कार्यक्रममा सहभागी हुन किमानलाई आह्वान गरेको थियो। कार्यक्रममा सहभागी हुन इच्छुक कृषकले कम्तीमा ५ कट्ठा क्षेत्रफलमा गहुँ खेती गरेको हुनुपर्ने र खेती गरिएको स्थान स्पाट बनाउनु पर्ने उल्लेख गरेको थियो। यसैगरी उत्पादन मापनका लागि करिब १० मिटर क्षेत्रफलको नमुना प्लट छुट्याई उक्त नमुना प्लटबाट उत्पादनको नमुना संकलन गरी वास्तविक उत्पादनको आधारमा मूल्याङ्कन गरिएको गाउँपालिकाले जनाएको छ। उत्पादनको मापन तथा अभिलेख संकलन गर्ने काम राप्ती गाउँपालिका कृषि विकास शाखाको रोहवरमा गरिएको हो। कृषकले गँहु काट्ने तथा झार्ने समय अघि नै कृषि विकास शाखालाई जानकारी गराउनु पर्ने सूचनामा भनिएको थियो। यसरी संकलन गरिएको तथ्याङकका आधारमा धेरै उत्पादन गर्ने उत्कृष्ट कृषक छनाैट गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी हुन चाहने कृषकले अनुसूची-१ बमोजिमको निवेदन र अनुसूची-२ अनुसारको विवरण सहित आवेदन दिन भनेको थियो। आवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र समेत अनिवार्य रूपमा पेस गर्नु पर्ने व्यवस्था गरिएको थियो। स्थानीय तहले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रमले कृषि उत्पादन वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी गहुँ जस्ता प्रमुख खाद्यान्न बालीको उत्पादन बढाउन यसले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको कृषकलाई प्रतिस्पधांत्मक खेती गर्न प्रेरित गर्ने र उत्पादन लागत घटाउँदै उत्पादन वृद्धि गर्ने वातावरण बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने कृषि क्षेत्रका जानकार बताउँछन्। पछिल्ला वर्षहरूमा कृषि उत्पादनमा आएको उतार चढाव, मौसमीय जोखिम र उत्पादन लागत बढ्ने क्रममा रहेका कारण कृषकलाई प्रोत्साहन गर्ने नीति स्थानीय तहले प्राथमिकतामा राख्न थालेका छन्।
यसै सन्दर्भमा राप्ती गाउंपालिकाले गहुँ उत्पादन बढाउने लक्ष्य सहित उत्कृष्ट कृषकलाई पुरस्कार दिने कार्यक्रम ल्याएको हो। गाउँपालिकाले बढी धान उत्पादन गर्ने कृषकलाई पनि सम्मान गर्दै आएको छ। यसै गरी उत्पादनका आधारमा दुधमा समेत प्रोत्साहन रकम पालिकाले दिंदै आएको छ। यसले पशुपालनमा कृषकको आकर्षण बुद्धि हुनुका माचे दुधमा आत्मनिर्भर पालिका बनाउन सकेको पालिकाले जनाएको छ। समूह वा डेरी मार्फत कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन रकम दिदै बाएको छ। यसका लागि पालिकाने आन्तरिक बजेटबाट व्यवस्थापन गर्दै आएको छ।
