अपाङ्गतामा भएका नागरिकहरूका सवालमा प्रदेश सरकार गम्भीर छ : सचिव भण्डारी
देउखुरी २६ बैशाख । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले अपाङ्गता भएका नागरिकहरूका सवालमा प्रदेश सरकार गम्भीर रहेकाे बताएका छन् । नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशले शुक्रबार राप्ती उपत्यका देउखुरीकाे माैरीघाटमा आयाेजना गरेकाे दृष्टिबिहिन समावेशी निति कार्यक्रम र बजेट तर्जुमा गाेष्ठी कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताएका हुन् ।
सचिव भण्डारीले सबै प्रकारका अपाङ्गता भएका नागरिकहरूका लागि प्रदेश सरकारले समान व्यवहार गर्ने बताए । “सरकार अहिले अगामी नीति, कार्यक्रम र बजेटकाे तयारीमा जुटेकाे छ, तपाईहरू पनि सबै प्रकारका अपाङ्ग भएका नागरिकहरूलाई सम्बाेधन हुने गरी अपाङ्ग महासंघबाट आवश्यक कार्यक्रम ल्याउनुस्, सचिव भण्डारीले भने । सरकारका लागि सबै प्रकारका अपाङ्गता भएका नागरिकहरूका लागि समान हाे, हामीले कसैलाई भेदभाव गर्नु हुँदैन, त्यसका लागि तपाईहरूले नै कार्यक्रम बनाएर आउनुस्, प्रदेश सरकार तपाईहरू संग हातेमालाे गर्न तयार छ, सचिव भण्डारीले बताए ।
नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाेलाप्रसाद त्रिपाठीकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल नेत्रहिन संघका केन्द्रीय अध्यक्ष शिशिर खनालले वर्तमान सरकारले सुकुमबासी व्यवस्थापनका नाममा दृष्टिबिहिन अपाङ्गहरूलाई दुख दिएकाे आराेप लगाए । उनले सुकुमबासीका नाममा अपाङ्गता भएका नागरिकहरूकाे उचित व्यवस्थापनकाे बिकल्प बिना सरकारले गम्भीर मानव अधिकार हनन् गरेकाे आराेप लगाए । साथै केन्द्रीय अध्यक्ष खनालले अपाङ्गताहरू मध्ये दृष्टि बिहिन अपाङ्गता भएका नागरिकहरू बढी समस्यामा रहेकाे बताउँदै साेही अनुसार अगामी नीति, कार्यक्रम र बजेटमा प्राथामिकताका साथ सम्बाेधन गर्न आग्रह गरे ।
संघका केन्द्रीय उपाध्यक्ष भाबुकजंङ्ग थापाकाे स्वागत मन्तव्य तथा बिषय प्रबेशबाट शुरू भएकाे कार्यक्रममा लुम्बिनी प्रदेश याेजना आयाेगका अधिकृत भरत खरेल, समाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख कमला ज्ञवाली, स्वास्थ्य मन्त्रालयका शिशिर गिरी, लुम्बिनी प्रदेश निर्देशनालयका विभाकर ठाकुर, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक प्रकाश नेपाली, महासंघ कै लेखा प्रमुख महानन्द पाेख्रेल, नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशका महासचिव कृष्णबहादुर जिसी र पत्रकार सन्ताेषकुमार गुप्ता लगायतका वक्ताहरूले आ-आफ्नाे धारणा राखेका थिए। कार्यक्रमकाे सञ्चालन संघकी केन्द्रीय सचिव शिला घिमिरेले गरेकी थिईन् ।

