लागुऔषधको जोखिममा बालबालिका, अभिभावकलाई निगरानी बढाउन प्रहरीको आग्रह



लागुऔषधको जोखिममा बालबालिका, अभिभावकलाई निगरानी बढाउन प्रहरीको आग्रह

सिसहनियाँ २४ साउन । इलाका प्रहरी कार्यालय सिसहनियाँका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक मदन एमसीले बालबालिकालाई लागुऔषधको जोखिमबाट जोगाउन अभिभावकले आफ्ना छोराछोरीको गतिविधिमा विशेष निगरानी राख्नुपर्ने बताएका छन् ।

शनिबार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजित राप्ती चेम्बर अफ कमर्सको चौथो वार्षिक साधारणसभाका अवसरमा इलाका प्रहरी कार्यालय सिसहनियाँले आयोजना गरेको संक्षिप्त प्रशिक्षण कार्यक्रममा बोल्दै एमसीले यस्तो बताउनुभएको हो। पछिल्लो समय किशोर–किशोरीमा लागुऔषधको प्रयोग तथा गलत संगतको जोखिम बढ्दै गएकाले अभिभावक, विद्यालय, समुदाय र सुरक्षा निकायबीचको सहकार्य आवश्यक रहेको उनले बताए । प्रहरी सहायक निरीक्षक एमसीले बालबालिकालाई लागुऔषधबाट टाढा राख्न अभिभावकले उनीहरूको दैनिक गतिविधि, साथीभाइ, हिँडडुल गर्ने स्थान तथा व्यवहारमा आएको परिवर्तनलाई नजिकबाट नियाल्नुपर्ने बताए ।

उनले बालबालिका गलत संगतमा पर्दा त्यसको प्रभाव उनीहरूको भविष्यसँगै परिवार र समाजमा समेत पर्ने भएकाले समस्या देखिएपछि मात्र चासो राख्नेभन्दा सुरुदेखि नै अभिभावकले आफ्ना सन्तानसँग खुला रूपमा कुराकानी गर्नुपर्नेमा जोड दिए । “बालबालिकालाई नियन्त्रण गर्ने नाममा डर देखाउनेभन्दा उनीहरूसँग साथीको जस्तो व्यवहार गरेर समस्या बुझ्नुपर्छ,” उनले भने, “छोराछोरी कहाँ जान्छन्, कोसँग संगत गर्छन् र उनीहरूको व्यवहारमा कुनै अस्वाभाविक परिवर्तन आएको छ कि छैन भन्ने विषयमा अभिभावक सचेत हुन आवश्यक छ।”

प्रहरी सहायक निरीक्षक एमसीले लागुऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभएको स्पष्ट पार्दै यसको न्यूनीकरणका लागि परिवारदेखि विद्यालय, स्थानीय सरकार, व्यवसायी, सामाजिक संघसंस्था र समुदाय सबैको भूमिका महत्वपूर्ण हुने बताए । बालबालिकालाई सिर्जनात्मक तथा सामाजिक गतिविधिमा सहभागी गराउन सके उनीहरूलाई गलत बाटोमा जानबाट रोक्न सकिने उनको भनाइ थियो।

कार्यक्रममा उनले बढ्दो बालविवाहप्रति समेत चिन्ता व्यक्त गर्नुभयो। बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास तथा भविष्यमा प्रत्यक्ष असर पार्ने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनले बताए । “बालविवाह एउटा परिवारको मात्र समस्या होइन, यो सामाजिक समस्या हो,” एमसीले भने, “बालविवाह रोक्न अभिभावक, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, व्यवसायी, सामाजिक संघसंस्था र प्रहरी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ।”

उनले बालविवाहका कारण बालबालिका कम उमेरमै पारिवारिक जिम्मेवारीमा बाँधिनुपर्ने, शिक्षाबाट वञ्चित हुनुपर्ने र विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नुपर्ने अवस्था आउने भएकाले समयमै सचेतना फैलाउनुपर्ने बताए । प्रहरीले समुदायमा हुने विभिन्न अपराध तथा विकृति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउँदै एमसीले स्थानीय नागरिकले पनि कुनै शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरे । प्रहरी र नागरिकबीचको सहकार्य बलियो भएमा लागुऔषध, बालविवाहलगायतका सामाजिक विकृति नियन्त्रण गर्न सहज हुने उनको भनाइ थियो। प्रशिक्षण कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा स्थानीय नागरिकलाई बालबालिका तथा युवालाई सुरक्षित वातावरण निर्माणमा आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे