कार्यान्वयन नहुने बजेट शिर्षकमा राख्नुको कुनै औचित्य छैन् : मन्त्री तिमिल्सिना



कार्यान्वयन नहुने बजेट शिर्षकमा राख्नुको कुनै औचित्य छैन् : मन्त्री तिमिल्सिना

भालुवाङ ४ वैशाख । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कार्यान्वयन नहुने बजेट शिर्षकमा राख्नुको कुनै औचित्य नभएको स्पष्ट पार्दै योजनामुखी र परिणाममुखी बजेट निर्माणमा जोड दिएका छन् । उनले बजेट निर्माण गर्दा केवल कागजी योजना बनाउने प्रवृत्तिले विकास प्रक्रियालाई कमजोर बनाउने भन्दै व्यवहारिक र कार्यान्वयनयोग्य कार्यक्रमहरूलाई मात्र प्राथमिकता दिनुपर्ने धारणा राखे ।

शुक्रवार लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले आफू मन्त्री बनेदेखि नै हरेक बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको समन्वय तथा सहकार्य युनिसेफ र कालिका स्वावलम्बन सामाजिक केन्द्रको प्राविधिक सहयोगमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेश भित्रका शिक्षा, महिला, बालबालिका, अपाङ्गता र जेष्ठ नागरिकको क्षेत्रमा प्रदेश तथा स्थानीय तह सँगको समन्वय एवमे साझेदारीमा कार्यक्रम कार्यान्वयन गरिरहेका गैरसरकारी संस्थाहरु सँगको अन्तरक्रियामा बोल्दै मन्त्री तिमिल्सिनाले विगतमा बजेट विनियोजन भए पनि कार्यान्वयन नहुँदा विकासका लक्ष्यहरू अधुरै रहने गरेको उल्लेख गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे। “कार्यक्रमको नाम मात्रै राख्ने र बजेट छुट्याउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले भने, “अब हरेक कार्यक्रमको परिणाम देखिने गरी काम हुनुपर्छ।”

उनले बजेट खर्च हुन नसके अर्को आर्थिक वर्षमा सोही शीर्षकमा बजेट नआउने पनि स्पष्ट पारे । यसले सम्बन्धित निकायहरूलाई जिम्मेवार बनाउने र योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उनको विश्वास छ । “बजेट खर्च नभए त्यसको औचित्य रहँदैन, त्यसैले कार्यान्वयन हुने शीर्षकमा मात्र बजेट बनाउनु आवश्यक छ,” मन्त्री तिमिल्सिनाले जोड दिए । कार्यक्रममा उनले लुम्बिनी प्रदेशभित्र कार्यरत गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै ती संस्थाहरूलाई प्रदेश सरकारसँग समन्वयमा ल्याउनुपर्ने आवश्यकता औंल्याए । हाल अधिकांश संस्था समाज कल्याण परिषद्मा मात्र दर्ता हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले प्रदेशस्तरमा पनि तिनीहरूको अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्ने बताए । “प्रदेशभित्र काम गर्ने संघ–संस्थाहरूलाई सम्बन्धित मन्त्रालयको मातहतमा ल्याएर अभिलेखीकरण गर्न सकेमा नीति निर्माण र कार्यान्वयन दुवैमा सहजता हुन्छ,” उनले भने । यसका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको पनि उनले जानकारी दिए । मन्त्री तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावका कारण कतिपय कार्यक्रमहरू प्रभावकारी हुन नसकेको स्वीकार गरे । उनले तीनै तहबीच सहकार्य र साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिँदै दोहोरोपन हटाएर स्रोतको सदुपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले अध्यक्षता गर्दै मन्त्रालयले आगामी दिनमा समन्वयात्मक ढंगले कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गैरसरकारी संस्थाहरूले स्थानीय तहसम्म पुगेर सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै सरकार र संस्थाहरूबीच सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसैगरी कार्यक्रममा मुख्य सचिव कृष्णप्रसाद काप्रीले विकासका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको बताए । उनले गैरसरकारी संस्थाहरूलाई सरकारको साझेदारका रूपमा हेर्नुपर्ने धारणा राख्दै साझा लक्ष्य हासिल गर्न सहकार्य अपरिहार्य भएको उल्लेख गरे । राष्ट्रिय योजना आयोग लुम्बिनी प्रदेशका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले योजनाबद्ध विकासका लागि तथ्यांकमा आधारित निर्णय आवश्यक रहेको बताए । उनले प्रदेशभित्र सञ्चालन भइरहेका कार्यक्रमहरूको प्रभाव मूल्यांकन गर्दै आगामी योजना निर्माण गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी र गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सुशिला बेल्वासेले आ–आफ्नो प्रस्तुतीकरण राखेका थिए ।

उनीहरूले प्रदेशमा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूको अवस्था, चुनौती र सम्भावनाबारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागी गैरसरकारी संस्थाका प्रतिनिधिहरूले नीति निर्माणमा आफूहरूको सुझाव समावेश गर्न आग्रह गरेका थिए । उनीहरूले स्थानीय तहसम्म पुगेर काम गर्दा भोग्नुपरेका समस्याहरू पनि राखेका थिए । साथै, सरकारी निकायहरूसँग स्पष्ट कार्यविभाजन र सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन मन्त्रालयकी वरिष्ठ महिला विकास अधिकृत संझना सुवेदीले गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे