लेखक युवराज भण्डारीको तेस्रो कृति आफन्त र आँसु उपन्यासको विमोचन
भालुवाङ २४ साउन । लेखक युवराज भण्डारीको तेस्रो साहित्यिक कृति ‘आफन्त र आँसु’ उपन्यासको विमोचन गरिएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा आइतबार एक समारोह बीच वरिष्ठ साहित्यकार राधा न्यौपानेले उपन्यासको विमोचन गरेकी हुन्।
भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङको समायाेजनमा आयोजित कार्यक्रममा उपन्यास माथि डा. मोना केसी र जिवराज शर्माले समीक्षा गरेका थिए। ‘आफन्त र आँसु’ले मानवीय सम्बन्धभित्र लुकेका आत्मीयता, पीडा, संघर्ष र संवेदनालाई कथाका माध्यमबाट प्रस्तुत गर्न खोजेको समीक्षकहरूले बताएका थिए। आफन्त बीचको सम्बन्ध केवल सुखका क्षणमा मात्र नभई दुःख, अभाव, संघर्ष र जीवनका कठिन मोडमा कसरी परीक्षण हुन्छ भन्ने विषयलाई उपन्यासले उठान गरेको छ। मानवीय जीवनमा आउने आरोह–अवरोह, सम्बन्धको महत्व र आँसुमा लुकेको जीवनको यथार्थलाई कृतिले उजागर गर्न खोजेको लेखक भण्डारीले बताए। प्युठानको नौबहिनी गाउँपालिका–८ मा २०४८ साल माघ १० गते जन्मिएका भण्डारी हाल लमही नगरपालिका–६, देउखुरी दाङमा बस्दै आएका छन्। साहित्य सिर्जनामा निरन्तर सक्रिय भण्डारीले यसअघि २०६५ सालमा ‘उर्लंदो भेल’ कविता संग्रह र २०७१ सालमा ‘धर्ती आकाश’ गजल संग्रह प्रकाशित गरिसकेका छन्। ‘आफन्त र आँसु’ उनको साहित्यिक यात्राको तेस्रो कृति हो।
संस्थाका अध्यक्ष मेनुकादेवी रेग्मीको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार राधा न्यौपानेको प्रमुख आतिथ्यतामा भएको समारोहमा देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङका अध्यक्ष निमबहादुर थापा, लुम्बिनी वाङमय प्रतिष्ठान दाङका अध्यक्ष सुरेश कुमार पाण्डे, थारू भाषा साहित्य संस्कृति प्रतिष्ठान दाङका अध्यक्ष छविलाल कोपिला, नागरिक समाज दाङका सदस्य दामोदर भण्डारी, ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, झिल्का साहित्य समाजका अध्यक्ष अनुभव, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष हिमाली न्यौपाने, साहित्यकार कपिलकिशोर घिमिरे साहित्यकार शेषमणी घिमिरे, सहकारी संस्थाका सल्लाहकार किरण भण्डारी, संस्थाकी दया भण्डारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा अभियान्ता बाबू रोका मगरले कविता बाचन गरेका थिए । साहित्यकार कृष्ण गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका लेखा संयोजक सोनु भण्डारीले गरेकी थिइन् । युवराज भण्डारीले २०६५ मा उर्लदो भेल कविता संग्रह, २०७१ मा धर्ती आकाश गजल संग्रह प्रकाशन गरिसकेका छन् । बुवा भिउसीन भण्डारी र आमा ठइ कुमारी भण्डारीको कोखबाट जन्मिएका युवराजको जीवन संगेनी मनिसा केसी र छोरा मिश्रण भण्डारी तथा छोरी आकांक्षा भण्डारी रहेछन् ।
