भालुवाङ २५ साउन । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-५, सिसहनियाँमा प्रधानकार्यालय रहेकाे सिसहनियाँ उद्योग बाणिज्य संघकाे १२ औँ स्थापना दिवस समाराेह विभिन्न कार्यक्रमका साथ साेमबार संघकाे सभाहल सिसहनियाँमा सम्पन्न भएकाे छ । संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यतामा स्थापना दिवस सम्पन्न भएकाे हाे ।
उद्योग बाणिज्य संघले आफ्नाे स्थापना दिवसकाे अवसरमा संघकाे कार्यक्षेत्रमा रहेकाे राप्ती आधारभूत अस्पताल कालापानीलाई ५० हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका औषधी प्रदान गरेकाे छ । अस्पतालमा स्वास्थ्य सेवा लिन आउने विपन्न नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील केसीलाई उक्त औषधी हस्तान्तरण गरेका हुन् । त्यस्तै राप्तीलाई सुन्दर र सफा बनाउन प्लास्टिकमुक्त राप्ती बनाउने उद्देश्यका साथ राप्ती गाउँपालिका संगकाे सहकार्यमा सिसहनियाँ उद्योग बाणिज्य संघले शुरू गर्न थालेकाे अभियानलाई सफल बनाउन राप्ती गाउँपालिकाले पहिलाे चरणमा १२ सय थान कपडाकाे झाेला प्रदान गरेकाे छ । अध्यक्ष बिष्टले संघका अध्यक्ष अधिकारीलाई उक्त कपडाकाे झाेला प्रदान गरेका हुन् । भने दिवसकै अवसरमा संघले जन्मजात अपांगता भएका दुई जनालाई अपांगमैत्री कुर्सी सहयोग गरेको छ। राप्ती गाउँपालिका–५ करङ्गेकोटका खिमानन्द तिवारी र वडा नं. ८ पिपरीकी उषाबीनु चौधरीलाई उनीहरूका अभिभावक मार्फत अपांगमैत्री कुर्सी हस्तान्तरण गरिएको हो।
साे अवसरमा बाेल्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले निजी क्षेत्रको सहभागीतामा मात्र विकास सम्भव भएको बताए । उनले देश निर्माणमा नेपालको हरेक क्षेत्रमा निजी क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेको तर्क गरे । अध्यक्ष बिष्टले खराव व्यवहार तथा आचारण सुधार गर्न पनि उनले सवैमा आग्रह गरे । यस्तै अध्यक्ष बिष्टले बजारमा बिचाैलियाहरूले कालो बजारी गरेको कारण ग्यास अभाव भएको गुनासो प्रति स्थानीय सरकार सचेत रहेको र ग्यास अभाव हुन नदिने बताए ।
संघका बरिष्ठ उपाध्यक्ष मदन पाेख्रेलकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिका-५ नम्बर वडा अध्यक्ष देवप्रसाद चाैधरी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गाेपाल न्याैपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका भिमा आचार्य, नेपाली काँग्रेसका गाेबद्धन रावत, नेकपा एमालेका मदन अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर पुजाली, संघका निर्वतमान अध्यक्ष पूर्णबहादुर बुढाथाेकी, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाका अध्यक्ष तिर्थराज ज्ञवाली, हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशमबहादुर थापा र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतका बक्ताले बाेलेका थिए । कार्यक्रमकाे सञ्चालन संघका सचिव रामलाल पाण्डेले गरेका थिए ।
वि.सं. २०७१ साल साउन २५ गते अर्थात आज कै दिन विधिवत रूपमा सिसहनियाँ उद्योग बाणिज्य संघकाे रूपमा जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भएकाे थियाे । केही बर्ष पहिले सिसहनियाँ बजार व्यवस्थापन समितीका रूपमा रहेकाेमा व्यापारीहरूकाे सक्रियतामा शान्तराज भण्डारीकाे अध्यक्षतामा उद्योग बाणिज्य संघकाे रूपमा दर्ता भएकाे थियाे । हाल यस संघकाे कार्यक्षेत्र राप्ती गाउँपालिका वार्ड नम्बर ५, ६, ७ र ८ मा गरी करिब ८ सय उद्योगी, व्यापारीहरू आवद्ध रहेका छन् ।