एसईईले विद्यार्थीको भविष्य कस्तो बनाउने भन्ने तय गर्छ : एकेडेमीक डाइरेक्टर केसी



एसईईले विद्यार्थीको भविष्य कस्तो बनाउने भन्ने तय गर्छ : एकेडेमीक डाइरेक्टर केसी

भालुवाङ १२ चैत । गोरखा ग्रुपका एकेडेमीक डाइरेक्टर दुर्गाबहादुर केसीले एसईईलाई जीवनको महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै विद्यार्थीहरूलाई लक्ष्य, मेहनत र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरेका छन्।

दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको गोरखा आइडियल स्कुलमा आयोजना गरेको कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरि बिहीबार आयोजना गरिएको शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका केसीले भने, “एसईईले तपाईंको भविष्य कस्तो बनाउने भन्ने तय गर्छ। त्यसैले यसलाई सामान्य परीक्षा मात्र नभई आफ्नो जीवनको दिशानिर्देशक अवसरका रूपमा लिनुहोस्।” उनले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसार लक्ष्य निर्धारण गर्न र त्यसलाई प्राप्त गर्न निरन्तर मेहनत गर्न आग्रह गरे।

केसीले आजको प्रतिस्पर्धात्मक युगमा सफल हुन अनुशासन, समय व्यवस्थापन र सकारात्मक सोच अनिवार्य हुने बताउँदै सही निर्णयले उज्ज्वल भविष्य निर्माण गर्ने धारणा व्यक्त गरे। उनले विद्यार्थीहरूलाई आफूले रोजेको क्षेत्रमा उत्कृष्टता हासिल गर्न आत्मविश्वास र निरन्तर अभ्यास आवश्यक हुने बताए। गोरखा आइडियल स्कुलको आयोजनामा कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) अघि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।  गोरखा मोडेल स्कुलका प्रधानाध्यापक लोकमान रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रधानाध्यापक रिजालले विद्यार्थीहरू अब जिम्मेवारीपूर्ण जीवनतर्फ अघि बढ्ने चरणमा पुगेको उल्लेख गरे। उनले भने, “अब तपाईंहरू आफ्नो मात्र होइन, परिवारको जिम्मेवारी पनि बहन गर्ने अवस्थामा पुग्दै छाै।” उनले शिक्षामा गरेको मेहनत र लगानीले नै भविष्य निर्धारण गर्ने भएकाले त्यसतर्फ गम्भीर बन्न आग्रह गरे । रिजालले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन, असफलताबाट नआत्तिन र त्यसलाई सिकाइको अवसरका रूपमा लिन सुझाव दिए । साथै अभिभावकको सपना पूरा गर्ने जिम्मेवारी पनि विद्यार्थीहरूकै काँधमा हुने भएकाले त्यसप्रति सचेत रहन आग्रह गरे।

कार्यक्रममा विषयगत शिक्षकहरू बलदेव लामिछाने, पुष्पा शर्मा, मधु गौतम, टिकाराम आचार्य, देव बुढा, विज्ञान संकाय संयोजक प्रकाश रिजाल तथा व्यवस्थापन संकाय संयोजक प्रकाश वली लगायतले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै परीक्षा तयारीका प्रभावकारी उपायहरूबारे जानकारी दिएका थिए । उनीहरूले नियमित अध्ययन, समय व्यवस्थापन, पुनरावलोकन तथा नमुना प्रश्नपत्र अभ्यासलाई सफलता हासिल गर्ने मुख्य आधारका रूपमा प्रस्तुत गरेका थिए। शिक्षकहरूले परीक्षा अवधिमा मानसिक सन्तुलन कायम राख्न, तनाव व्यवस्थापन गर्न, पर्याप्त आराम लिन र स्वास्थ्यमा ध्यान दिन विद्यार्थीहरूलाई सुझाव दिएका थिए। कार्यक्रमको सञ्चालन प्रिन्सिपल बसन्त बहादुर पुनले गरेका थिए ।  गोरखा आइडियल स्कुलबाट यस वर्षको एसईई परीक्षामा ४२ जना विद्यार्थी सहभागी हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे