आज चैते दसैँ : देशभर नवदुर्गा भगवतीको पूजा–आराधना गरि मनाइँदै



आज चैते दसैँ : देशभर नवदुर्गा भगवतीको पूजा–आराधना गरि मनाइँदै

काठमाडौँ १२ चैत । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देशभर नवदुर्गा भगवतीको पूजा–आराधनासहित मनाइँदैछ।

वर्षभरमा चार नवरात्र पर्ने भए पनि असोज शुक्ल पक्षको नवरात्र सबैभन्दा व्यापक रूपमा मनाइन्छ, जसलाई बडादसैँका रूपमा चिनिन्छ। त्यस समयमा घटस्थापना गरी जमरा राख्ने र दशमीका दिन मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने परम्परा रहेको छ। चैते दसैँमा भने यो परम्परा सबै घरपरिवारमा प्रचलित छैन। तर काठमाडौंस्थित हनुमानढोकाको दसैँघरमा घटस्थापनासहित विधिपूर्वक पूजा गरी अष्टमीका दिन बलि दिने चलन रहिआएको छ।

यस पर्वमा अष्टमी र नवमी विशेष महत्त्वका दिन मानिन्छन्। नवमीलाई त्रेता युगमा भगवान श्रीरामको जन्मसँग जोडेर रामनवमीका रूपमा पनि मनाउने गरिन्छ। बडादसैँ जस्तै चैते दसैँको उद्देश्य पनि सुख–शान्ति प्राप्ति र परलोक सुधारका लागि आशीर्वाद लिने विश्वाससँग जोडिएको छ। यस अवसरमा परिवारजनबीच जमघट हुने चलन पनि रहेको छ।

काठमाडौं उपत्यकाभित्रका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, कालिकास्थानलगायत विभिन्न शक्तिपीठहरूमा विशेष पूजा भइरहेको छ। त्यस्तै, उपत्यकाबाहिरका मनकामना, शैलेश्वरी, वागेश्वरी, चण्डेश्वरी, पलाञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ। धार्मिक विश्वासअनुसार चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा–दर्शन गरेमा मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने मान्यता रहिआएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे