राप्ती–५ पहरुवामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा तीन जना घाइते
सिसहनियाँ ११ चैत । दाङको राप्ती गाउँपालिका–५ पहरुवा स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
अहिले राती करिब ८ बजेकाे समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा ३ प २२२७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको हो। दुर्घटनामा साइकल चालक राप्ती गाउँपालिका–५ पहरुवा निवासी वर्ष ३५ का रामजनम चौधरी र साइकलको पछाडि सवार उनकी श्रीमती वर्ष ३५ की सरिता चौधरी घाइते भएका छन्। रामजनम र सरिताको ढाडमा चोट लागेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ। यस्तै मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ थकरीकोट निवासी वर्ष ३२ का खडकबहादुर बुढामगरको टाउको, अनुहार तथा दुवै हातमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको बताइएको छ।
घाइते सबैको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ। मोटरसाइकल र साइकल प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक बुद्धि प्रसाद रानाको कमाण्डमा ३ जनाको प्रहरी टोली घटना स्थलमा खटिएको थियो।
