बालेन शाहले शुक्रवार दिउँसाे १२ बजेर ३४ मिनेटकाे साइतमा प्रधानमन्त्रीकाे शपथ लिने
काठमाण्डाै ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि चैत १३ गते शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।
शाहको सचिवालयका अनुसार शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण र त्यही दिन दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारमा कार्यभार सम्हाल्ने साइत तय भएको हो । शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शङ्खनाथ, १०८ जना वटुकबाट स्वस्ति शान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट शुभ मङ्गलपाठ गर्ने कार्यक्रम रहेको छ । यस अघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाण्डौ महानगरपालिकाको मेयर जितेका शाह चुनावअघि मात्रै प्रधानमन्त्रीको दाबेदार सहित पार्टीको वरिष्ठ नेताका रूपमा रास्वपामा प्रवेश गरेका हुन् । फागुन २१ गते भएको चुनावमा रास्वपाले झन्डै दुईतिहाइ सिट जितेको छ । अब रास्वपाले एकल सरकार बनाउँदैछ । चुनावमा रास्वपाको पक्षमा अत्यधिक जनलहर आउनुमा शाहको लोकप्रियतालाई मुख्य मानिएको छ । मेयर छँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवादमा आइरहने शाहले ओलीकै निर्वाचन क्षेत्र झापा–५ मा उम्मेदवारी दिएर ओलीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।
