क्षयरोग रोकथाममा सबैको साझा दायित्व : स्वास्थ्य मन्त्री सारू 



क्षयरोग रोकथाममा सबैको साझा दायित्व : स्वास्थ्य मन्त्री सारू 

भालुवाङ १० चैत । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले क्षयरोग (टिबी) रोकथाम तथा नियन्त्रणका लागि सबै तह र क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् । मंगलबार दाङको राप्ती गाउँपालिका–मसुरियामा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सारूले यस्तो धारणा व्यक्त गरे ।

उनले स्वास्थ्य सेवा मात्रले नभई समुदाय, परिवार र सरोकारवाला सबै पक्षको साझा प्रयासबाट मात्र क्षयरोग उन्मूलन सम्भव हुने स्पष्ट पारे । उनले भने , “क्षयरोग अझै पनि जनस्वास्थ्यका लागि चुनौतीपूर्ण रोगका रूपमा रहेको छ । यसको नियन्त्रणका लागि समयमै पहिचान, नियमित उपचार र जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक छ ।” मन्त्री सारूले सरकारले निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था गरेको उल्लेख गर्दै सेवाको प्रभावकारी उपयोग गर्न सबै नागरिकलाई आग्रह गरे ।

मन्त्री सारूले क्षयरोग संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै भेदभाव र डरका कारण धेरै बिरामी लुकेर बस्ने प्रवृत्ति अझै रहेको बताए । “रोग लुकाउने होइन, समयमै उपचार गर्ने संस्कार विकास गर्नुपर्छ,” उनले भने, “समाजले पनि संक्रमितप्रति सहानुभूति र सहयोगी व्यवहार देखाउनुपर्छ ।” कार्यक्रममा उनले स्थानीय तहको भूमिका अझ महत्वपूर्ण रहेको उल्लेख गर्दै गाउँपालिकाले समुदाय स्तरमै सचेतना कार्यक्रम, परीक्षण अभियान र निगरानीलाई प्रभावकारी बनाउनुपर्ने बताए । साथै, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि र स्रोत साधनको उचित व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरीले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, स्वास्थ्य मन्त्रालयका नोदनारायण चौधरी लगायतका वक्ताहरूले पनि क्षयरोग नियन्त्रणका लागि सचेतना, सहकार्य र प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

लुम्बिनी प्रदेशमा क्षयरोग नियन्त्रणमा प्रगति, तर चुनौती अझै कायम :

लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी) को अवस्था हेर्दा उपचारमा सुधार देखिए पनि संक्रमण दर अझै उच्च रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला केही वर्षमा टिबी सम्बन्धी प्रमुख सूचकहरूमा मिश्रित अवस्था देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रति एक लाख जनसंख्यामा ११२ रहेको केस नोटिफिकेशन दर (ऋल्च्) क्रमशः बढ्दै २०७८/७९ मा १५८ पुगेको थियो। त्यसपछि केही उतारचढावका बीच २०८०/८१ मा १६४ पुगेको यो दर २०८१/८२ मा घटेर १५१ मा झरेको छ ।

यसले एकातर्फ केस पहिचान र परीक्षणको दायरा बढेको देखाए पनि संक्रमण अझै व्यापक रहेको संकेत गर्दछ। उपचारतर्फ भने प्रदेशले उत्साहजनक प्रगति हासिल गरेको छ। उपचार सफलता दर २०७६/७७ मा ९१ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ९४ प्रतिशत पुगेको छ । यसले स्वास्थ्य संस्थाहरूमा उपचार सेवा र निगरानी प्रणालीमा सुधार आएको देखाउँछ। तर मृत्यु दर भने ३ देखि ४ प्रतिशतको हाराहारीमा स्थिर रहेको छ, जसले समयमै पहिचान र उपचारमा अझै कमजोरी रहेको संकेत गर्दछ ।

जिल्लागत तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी टिबी बिरामी रुपन्देही जिल्लामा भेटिएका छन्, जहाँ १११५ जना केस दर्ता भएका छन् । त्यसपछि दाङमा ७७४, बाँकेमा ५७९, कपिलवस्तुमा ५६२ र बर्दियामा ३८० केस रहेका छन्। तुलनात्मक रूपमा पहाडी जिल्लाहरूमा केस संख्या कम देखिए पनि सेवा पहुँचको सीमितताका कारण वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।

प्रदेशभर कुल ४५०८ टिबी बिरामी दर्ता भएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनीका क्षयरोग फोकल पर्सन कृष्ण गोपाल चौधरीका अनुसार कुल केस नोटिफिकेशन दर ८५.९५ प्रतिशत रहेको छ, भने उपचार सफलता दर ९० प्रतिशत पुगेको छ । टिबी–एचआईभी सह–संक्रमणका ३२ केस र ब्च्त् मा रहेका २० बिरामीहरू समेत फेला परेका छन्, जसले रोग नियन्त्रणमा चुनौती थपेको छ । चौधरीका अनुसार क्षयरोग नियन्त्रणमा मुख्य समस्या ढिलो परीक्षण, उपचार अधुरो छोड्ने प्रवृत्ति तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँचको अभाव हो । विशेषगरी गरिब, सीमान्तकृत समुदाय र श्रमिक वर्गमा टिबीको जोखिम बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे