राप्ती गाउँपालिकामा यस आर्थिक वर्षमा क्षयरोगकाे बिरामीको संख्या ५६, मृत्युदर शून्य
भालुवाङ १० चैत । दाङको राप्ती गाउँपालिकाले चालु आर्थिक वर्षमा क्षयरोग (टिबी) नियन्त्रणतर्फ उल्लेखनीय प्रगति गरेको छ। गाउँपालिकाको तथ्यांक अनुसार असार यता हाल सम्म कुल ५६ जना बिरामी फेला परेका छन् भने मृतकको संख्या शून्य रहेको छ। यो तथ्यले स्वास्थ्य सेवाको पहुँच, सचेतना तथा उपचार व्यवस्थामा सुधार भएको स्पष्ट संकेत गरेको छ।
गत आर्थिक वर्षमा भने ८२ जना क्षयरोगका बिरामी भेटिएका थिए भने ३ जनाको मृत्यु भएको थियो । तुलनात्मक रूपमा यस वर्ष बिरामीको संख्या घट्नुका साथै मृत्युदर शून्यमा झर्नु अत्यन्त सकारात्मक उपलब्धिका रूपमा लिइएको छ। स्वास्थ्यकर्मीहरूको सक्रियता, समयमै परीक्षण तथा नियमित औषधि सेवनले यस उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ। राप्ती गाउँपालिकाकी क्षयरोग संयोजक प्रतिमा विष्टका अनुसार क्षयरोग नियन्त्रणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। “समुदाय स्तरमै गएर जनचेतना फैलाउने, जोखिममा रहेका व्यक्तिहरूको समयमै परीक्षण गर्ने र बिरामीलाई नियमित उपचारमा जोड्ने कार्यले राम्रो परिणाम दिएको छ,” उनले बताइन्। वडागत विवरण अनुसार विभिन्न वडामा बिरामीको संख्या फरक–फरक रहेको छ। अस्पताल, स्वास्थ्य चाैकी तथा सामुदायिक स्वास्थ्य इकाइ मार्फत प्रत्येक वडामा नियमित निगरानी, परीक्षण तथा परामर्श सेवा प्रदान गरिँदै आएको छ। स्थानीय स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिताले पनि बिरामी पहिचान र उपचारमा सहजता ल्याएको छ।
क्षयरोग एक संक्रामक रोग भए पनि समयमै पहिचान र उपचार गरेमा पूर्ण रूपमा निको पार्न सकिने रोग हो। यसका लागि कम्तीमा ६ महिना नियमित औषधि सेवन अनिवार्य हुन्छ। स्वास्थ्यकर्मीहरूले बिरामीलाई औषधि सेवनमा निरन्तरता दिन आग्रह गर्दै आएका छन्। गाउँपालिकाले क्षयरोग निवारणका लागि विद्यालय, समुदाय तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। साथै, निःशुल्क परीक्षण तथा औषधि वितरण सेवा प्रभावकारी रूपमा अघि बढाइएको छ। स्थानीय तहको सक्रियता, स्वास्थ्यकर्मीहरूको मेहनत र समुदायको सहयोगले राप्ती गाउँपालिकामा क्षयरोग नियन्त्रणमा सकारात्मक उपलब्धि हासिल भएको देखिन्छ। आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिँदै अझ प्रभावकारी रणनीति अपनाइने विश्वास गरिएको छ।

