सर्वहित सहकारीको सामाजिक उत्तरदायित्व : जेष्ठ नागरिकहरुलाई तिर्थयात्रा



सर्वहित सहकारीको सामाजिक उत्तरदायित्व : जेष्ठ नागरिकहरुलाई तिर्थयात्रा

भालुवाङ  ७ चैत । दाङको राप्ती गाउँपालिका–४ मौरीघाट, श्रीनारायणचोकमा अवस्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना जेष्ठ सदस्यहरूलाई लक्षित गर्दै उदाहरणीय काम गरेको छ।

संस्थाले वार्षिक स्वीकृत कार्ययोजना अन्तर्गत ६० वर्ष माथिका ३० जना जेष्ठ नागरिकहरूलाई तिर्थयात्रा गराउँदै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको अवलोकन गराएको छ । समाजमा जेष्ठ नागरिकहरूको भूमिका, अनुभव र योगदानलाई सम्मान गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमले सहभागीहरूलाई आध्यात्मिक शान्ति मात्र होइन, आपसी सद्भाव र खुसीको अनुभूति दिलाएको छ। पछिल्लो समय परिवार तथा समाजमा जेष्ठ नागरिकहरू एक्लोपन र उपेक्षाको महसुस गरिरहेको सन्दर्भमा सहकारी संस्थाले गरेको यस्तो प्रयासलाई अत्यन्त सकारात्मक रूपमा हेरिएको छ। सहकारी संस्थाका अध्यक्ष बालाराम कुमालका अनुसार जेष्ठ नागरिकहरूलाई सुखी, सक्रिय र मानसिक रूपमा सन्तुलित बनाउन यस्ता कार्यक्रमहरू आवश्यक छन् । “हामीले केवल आर्थिक कारोबारमा सीमित नरही सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भन्ने सोचका साथ यो कार्यक्रम आयोजना गरेका हौं,” उनले बताए । उनका अनुसार तिर्थयात्राले जेष्ठ नागरिकहरूलाई आध्यात्मिक ऊर्जा प्रदान गर्नुका साथै उनीहरूबीच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने काम गरेको छ।

तिर्थयात्रा कार्यक्रम अन्तर्गत सहभागी जेष्ठ नागरिकहरूलाई घोराही उपमहानगरपालिकाको धारापानीमा रहेको प्रसिद्ध पाण्डवेश्वर महादेव मन्दिरमा दर्शन गराएको छ । धार्मिक आस्थाको केन्द्र मानिने उक्त मन्दिरमा पूजा–अर्चना गर्दै जेष्ठ नागरिकहरूले मनोकामना पूरा हुने विश्वास व्यक्त गरेका थिए। मन्दिर परिसरको शान्त वातावरण र धार्मिक आस्थाले उनीहरूलाई गहिरो सन्तुष्टि दिलाएको सहभागी जेष्ठ नागरिकहरूले बताएका छन्। त्यसैगरी कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा दंगीशरण गाउँपालिकाको चखौरामा रहेको थारू संग्रहालयको अवलोकन गराइएको थियो। थारू समुदायको कला, संस्कृति, परम्परा र जीवनशैली झल्काउने उक्त संग्रहालयले जेष्ठ नागरिकहरूलाई आफ्नो मौलिक पहिचानसँग नजिक हुने अवसर प्रदान गरेको थियो। संग्रहालयमा राखिएका परम्परागत सामग्री, पोशाक, उपकरण तथा ऐतिहासिक वस्तुहरूले उनीहरूलाई विगतका दिनहरूको स्मरण गराउँदै सांस्कृतिक गौरवको अनुभूति गराएको थियो।

कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले सहकारी संस्थाप्रति आभार व्यक्त गर्दै यस्तो अवसर पाउनु आफूहरूका लागि अविस्मरणीय अनुभव भएको बताएका छन्। “हामीलाई यसरी सम्झिएर तिर्थयात्रा गराउनु निकै खुशीको कुरा हो। यसले हाम्रो मन शान्त बनाएको छ,” एक सहभागीले प्रतिक्रिया दिए।

यस कार्यक्रमले जेष्ठ नागरिकहरूको सम्मान र हेरचाहमा सहकारी संस्थाहरूले खेल्न सक्ने भूमिकालाई उजागर गरेको छ। आर्थिक सेवा मात्र नभई सामाजिक र सांस्कृतिक गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै सहकारी संस्थाले समुदाय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ भन्ने उदाहरण सर्वसहित सहकारीले प्रस्तुत गरेको छ। स्थानीय स्तरमा यस्ता कार्यक्रमहरूले सामाजिक एकता मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई पनि जेष्ठ नागरिकहरूको महत्व बुझाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी, परम्परा, संस्कृति र धार्मिक आस्थासँग जोडिएका गतिविधिहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास लिइएको छ। सहकारी संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। जेष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य र मानसिक सन्तुलनलाई ध्यानमा राख्दै विविध कार्यक्रमहरू सञ्चालन गरिने अध्यक्ष कुमालले जानकारी दिए। सहकारी संस्थाले आयोजना गरेको तिर्थयात्रा तथा सांस्कृतिक अवलोकन कार्यक्रमले जेष्ठ नागरिकहरूको जीवनमा नयाँ उत्साह भरेको छ। यसले सामाजिक उत्तरदायित्वप्रति सहकारी संस्थाहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे