आरम्भ चौतारी लघुवित्तद्वारा सदस्य र विद्यार्थीहरूलाई वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न
देउखुरी ७ चैत । दाङ–देउखुरीको राप्ती गाउँपालिका–२, लालमटिया स्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड लालमटिया शाखाको आयोजनामा आज शनिबार गोलोबल मनि उईक २०२६ को अवसरमा आफ्ना सदस्य तथा विद्यार्थीहरूका लागि एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी लालमटिया शाखा प्रमुख तिलनकुमारी पछाईको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रबक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरीको प्रमुख आतिथ्यता तथा ईलाका प्रहरी कार्यालय भालुवाङका बरिष्ठ प्रहरी नायव निरिक्षक डबलबहादुर बिष्टको विशिष्ट आतिथ्यतामा उक्त वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राप्ती गाउँपालिकाका प्रबक्ता चौधरीले लघुबित्त संस्थाले बैकिङ्ग पहुँच देखि टाढा रहेका ग्रामिण समुदायका लागि लघुबित्त संस्था निकै फलदायी बनेको बताए । उनले लघुबित्तले बचत गर्न सिकाउने, ऋण लगानी गर्नुका साथै ग्रामिण समुदायका नागरिकहरूलाई उद्यमी बन्न सहयोग पुर्याएको भन्दै चर्चा गरे । प्रवक्ता चौधरीले सदस्यले लिएको ऋण सही ठाउँमा सदुपयोग गर्न सुझाब दिए । उनले ऋणलाई सही ठाउँमा लगानी गरेमा मात्र ऋणी र संस्थाको हित हुने समेत बताए ।

कार्यक्रममा संस्थाकी शिवराज स्टेसन प्रमुख दिपा ज्ञवालीले लघुवित्त, बचत, ऋण, बिमा र उद्यमशिलता लगायतका बिषयमा सहभागीहरूलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिइकी थिइन् । सो अवसरमा उत्कृष्ट केन्द्र कर्जा कारोबारका रूपमा अर्घाखाँची बुढीदमार आरम्भ समूह, उत्कृष्ट अनुशासन केन्द्रमा गणेश आरम्भ चौतारी बगरापुरलाई सम्मान गरेको छ भने असल ऋणीको रूपमा कौशिला आले र उत्कृष्ट बचतकर्ताका रूपमा यमा कुमाललाई समेत सम्मान गरेको छ । उनीहरूलाई फूलमाला, टीका, खाँदा र सम्मान–पत्र सहित सम्मान गरिएको थियो ।

वि.सं. २०७३ सालमा स्थापना भएको लालमटिया शाखा हाल राप्ती गाउँपालिका पुरै, लमहीको वार्ड १, ४ र ५, प्यूठानको सरूमारानी गाउँपालिकाको वार्ड नम्बर १ र २ तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाको वार्ड नम्बर ८ लाई कार्यक्षेत्र बनाई बित्तीय कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । हाल लालमटिया शाखा अन्तर्गत ८८ वटा केन्द्र रहेका छन् भने १ हजार ११ महिला पुरूष सदस्य रहेका छन् । हाल देशभर १ सय ४० वटा शाखा रहेका छन्, भने दाङमा लालमटिया शाखा सहित ८ वटा शाखा रहेका छन् ।

संस्थाकी फिल्ड सहायक दिलसरा चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय भालुवाङका बरिष्ठ प्रहरी नायव निरिक्षक डबलबहादुर बिष्ट र पत्रकार सन्तोषकुमार गुप्ता, संस्था केन्द्र सदस्यहरू पोमकला रेश्मी, दशनी चौधरी र आर्दश माध्यमिक विद्यालय लालमटियाका विद्यार्थी पवन सुनार लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी शिवराज स्टेसन प्रमुख संस्थाको दिपा ज्ञवालीले गरेकी थिइन् ।

