भोली देखि तीन दिन हावाहुरी सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ ५ चैत । भोलि (शुक्रबार) देखि तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले अनुरोध गर्दै तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो। शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ। लगत्तै शुक्रबार नै लुम्बिनी प्रदेशको दाङ र नेपालगञ्जसहितका तराई क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको प्राधिकरण जनाएको छ। पर्सि शनिबार पूर्वी नेपालमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
प्रि-मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ। प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध समेत गरेको छ।
कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना
प्राधिकरणकाअनुसार भाेलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा ठूलाे वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन प्राधिकरणकाे आग्रह छ ।
लुम्बिनी र पूर्वी नेपालमा तीव्र हावाहुरीको चेतावनी
भाेलि लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम रहेकाे छ । पर्सि शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।
प्राधिकरणको विशेष सुझाव
प्राधिकरणले जोखिमबाट बच्न नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू (चुल्हो, ग्यास आदि) बन्द राख्न, गाडी चलाइरहेको भए सुरक्षित ठाउँमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउनसमेत सबैमा अनुरोध गरेको छ ।
– न्यूज एजेन्सी नेपाल

