निर्वाचन आयोगले चुनावको प्रतिवेदन राष्ट्रपतिलाई बुझायो, सांसदहरूकाे शपथ चैत १२ गते
काठमाण्डाै ५ चैत । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागेर चुनाव सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको उनको सचिवालयले जनाएको छ । आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ । प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले अब प्रक्रिया अघि बढाउने छन् । यसअघि आयोगले आजै फागुन २१ गते सम्पन्न चुनावमा समानुपातिकतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण पनि गरेको छ । प्रत्यक्षतर्फ जितेका १६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् ।
यसैबीच प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज यस पटकको चुनावमा राष्ट्रिय दल बनेका ६ वटा दलका प्रतिनिधिसँग छलफल गर्दै यही १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जानकारी गराएको हो ।सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पहिलो ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि उनले बाँकी सांसदलाई शपथ गराउने छन् ।
