समानुपातिक सांसदले प्रमाणपत्र पाए (तस्वीरहरू)
काठमाण्डाै ५ चैत । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।
आयोगले आज एक कार्यक्रमकाबीच समानुपातिकतर्फका १ सय १० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरूलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुनशमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् । सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ । चुनावबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दलका रूपमा रहेको छ । यस पटकको चुनावबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौँ र राप्रपा ५ सिटसहित छैटाैँ दलका रूपमा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
आयोगले प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य चुनाव २०८२ को परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको जनाएको छ । अयोगले परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।









