सांग्रिला बैंक लमहीद्वारा वित्तीय साक्षरता तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
देउखुरी ५ चैत । १४ औँ मुद्रा सप्ताहको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, लमही शाखाको आयोजनामा लमही नगरपालिका–७ हसानापुरस्थित अर्जुन माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
बैंकका दाङ सब–क्लस्टर हेड आस कुमार जरेजुको अध्यक्षता एवम् लमही नगरपालिका वडा नं. ६ की महिला सदस्य उर्मिला चौधरीको प्रमुख आतिथ्यतामा र विद्यालयका प्रधानाध्यापक महेश न्यौपाने विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । वित्तीय साक्षरता कार्यक्रममा ६० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। सो अवसरमा दलित, जनजाति, अति विपन्न तथा जेहेनदार २५ जना विद्यार्थीहरूलाई नगद रू १५ हजार बराबरकाे शैक्षिक सामग्री अन्तरगत कपी कलम लगायत वितरण गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले वित्तीय साक्षरताले बचतको महत्व बुझाउन सहयोग गर्ने बताएका थिए । साथै उनीहरूले “आजको बचत भोलीको सुरक्षित भविष्य” निर्माणका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे। उक्त कार्यक्रमको प्रशिक्षकमा सांग्रिला डेभलपमेन्ट बैंक लमही शाखाका शाखा प्रबन्धक तेज बहादुर नेपालीले रहनु भएको थियो भने सहजीकरण कर्जा फाँटका कर्मचारी शैलेश चौधरीले गर्नुभएको थियो।
स्थानीय स्तरमा वित्तीय ज्ञान विस्तार गर्दै विद्यार्थीहरूलाई बचत र जिम्मेवार आर्थिक व्यवहारप्रति सचेत गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा शिक्षक भोजराज चौधरी र शिक्षिका माधुरी चौधरीको विशेष उपस्थिति रहेको थियो ।
