नसर्ने रोगको रोकथामका लागि सचेतना सँगै समुदाय स्तरमा स्क्रिनिङ गरिरहेका छाै : मन्त्री सारू
भालुवाङ ३० फागुन । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले पछिल्लो समय नसर्ने रोगको अवस्था भयावह बन्दै गइरहेको भन्दै यसको रोकथामका लागि प्रदेश सरकारले समुदाय स्तरमै पुगेर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन्।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले शनिबार दाङको भालुवाङमा आयोजना गरेको “नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र निदान” विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री सारूले नसर्ने रोग नियन्त्रणका लागि प्रदेश सरकार सक्रिय रूपमा लागिरहेको बताए। उनले पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मुटु रोग, क्यान्सर लगायतका नसर्ने रोगहरू तीव्र रूपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । “पछिल्लो समय नसर्ने रोगको अवस्था निकै भयावह बन्दै गएको छ। यसको उपचारमा मात्रै प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गर्नुपरेको छ,” मन्त्री सारूले भने, “बिरामीको संख्या चार गुणासम्म बढ्दै जानु अत्यन्त चिन्ताजनक विषय हो।”
मन्त्री सारूले नसर्ने रोग समयमै पहिचान गर्न सके उपचार सहज हुने र जटिलता कम गर्न सकिने भएकाले समुदायस्तरमै स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार यस वर्ष लुम्बिनी प्रदेशभर करिब ५ लाख नागरिकको स्क्रिनिङ परीक्षण गर्ने लक्ष्य राखिएको छ। “नसर्ने रोगका बिरामीहरू धेरैजसो अस्पताल पुग्दा ढिलो भइसकेको अवस्था देखिन्छ। त्यसैले हामीले समुदायमै पुगेर प्रारम्भिक जाँच गर्ने अभियान थालेका छौं,” मन्त्री सारूले भने । उनले प्रदेशका सबै जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगको स्क्रिनिङ कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै स्थानीय तहसँग समन्वय गरेर अभियानलाई सफल बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले नसर्ने रोग नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताए। उनले स्वस्थ जीवनशैली अपनाउन सके नसर्ने रोगको जोखिम धेरै हदसम्म कम गर्न सकिने धारणा राखे। राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय तह स्वास्थ्य सेवाको पहिलो आधार भएकाले नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई स्थानीय स्तरमा प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले समुदायमा जनचेतना फैलाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने तथा खानपानमा ध्यान दिने र स्वस्थ जीवनशैली अपनाउने अभियानलाई स्थानीय सरकारले पनि प्राथमिकता दिने बताए।
प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुवरले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले विभिन्न सुधारका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले नसर्ने रोग नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा स्वास्थ्य तथा अनुसन्धान क्षेत्रका विज्ञहरूले नसर्ने रोगको अवस्था, जोखिम तथा नियन्त्रणका उपायबारे प्रस्तुति दिएका थिए। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका रिसर्च एसोसियट एलिना खत्रीले नसर्ने रोगको अनुसन्धान र तथ्यांकको महत्त्वबारे जानकारी गराए। त्यसैगरी परिषदकै सिनियर रिसर्च फेलो अच्युतराज पाण्डेयले नेपालमा नसर्ने रोगको अवस्था र चुनौतीका विषयमा प्रस्तुति दिएका थिए। गौतमबुद्ध मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा. समीर गौतमले मुटुरोगका जोखिम, रोकथाम र उपचारका उपायबारे जानकारी गराउँदै जीवनशैलीमा सुधार ल्याउनु अत्यन्त आवश्यक रहेको बताए। उनले धूम्रपान, असन्तुलित आहार, शारीरिक निष्क्रियता र मानसिक तनाव नसर्ने रोगका मुख्य कारण भएको उल्लेख गरे।
त्यस्तै प्रदेश आयुर्वेद अस्पतालका डा. प्रवेश श्रीवास्तवले आयुर्वेदिक जीवनशैली र प्राकृतिक विधिबाट पनि नसर्ने रोगको जोखिम कम गर्न सकिने धारणा राखे ।कार्यक्रमका मोडरेटर डा. अच्युत शर्मा न्यौपाने र डा. सुभास पाण्डेयले पनि नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रोशनलाल चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरत कुवर र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत चाँदनी शर्माले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा नसर्ने रोगको स्क्रिनिङ लक्ष्य अनुसार सफलतापूर्वक कार्यान्वयन गरेको भन्दै पाल्पा, प्यूठान र रोल्पा जिल्लालाई सम्मान समेत गरिएको थियो।कार्यक्रमको व्यवस्थापन स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक तथा कार्यक्रमका फोकल पर्सन नेत्रलाल अर्यालले गरेका थिए। कार्यक्रममा प्रदेशभरका स्वास्थ्यकर्मी, जनस्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नसर्ने रोग नियन्त्रणका लागि समुदायमा जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।
