राप्ती–३ मा एक महिने निशुल्क योगा तथा जुम्बा फिटनेस कार्यक्रम सुरू
भालुवाङ ३० फागुन । दाङको राप्ती गाउँपालिका–३ मा रहेको मातृभूमि सेवा केन्द्र नेपालको आयोजनामा शनिबार देखि १ महिने निशुल्क योगा तथा जुम्बा फिटनेस कार्यक्रम राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सुरू भएको छ ।
केन्द्रका अध्यक्ष गीता गिरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीको प्रमुख आतिथ्यता र वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीको विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन गरिएको छ । शिविर उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष अधिकारीले स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू समुदायका लागि अत्यन्त महत्वपूर्ण र लाभदायक हुने बताए । पछिल्लो समय मानिसहरूको जीवनशैली अत्यधिक व्यस्त बन्दै गएको, नियमित व्यायामको कमी तथा असन्तुलित खानपानका कारण विभिन्न प्रकारका रोगहरू बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले नागरिकलाई सचेत र स्वस्थ बनाउने विश्वास व्यक्त गरे । “समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन यस्ता अभ्यास अत्यन्त आवश्यक छन् । स्थानीय स्तरमा माग भएमा योग अभ्यासलाई निरन्तरता दिने गरी हामी पहल गर्नेछौं,” वडा अध्यक्ष अधिकारीले भने । उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्न वडा कार्यालय सदैव सकारात्मक रहेको पनि बताए ।
यस्तै केन्द्रका अध्यक्ष गीता गिरीले पछिल्लो समय मानिसहरूको व्यस्त जीवनशैली, अनियमित खानपान र शारीरिक गतिविधिको कमीका कारण विभिन्न स्वास्थ्य समस्याबाट पीडित भइरहेको र यस्ता समस्यालाई कम गर्न नागरिकहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । “स्वस्थ शरीर र स्वस्थ मन नै समृद्ध समाजको आधार हो । यही सोचका साथ हामीले निःशुल्क योगा तथा जुम्बा फिटनेस शिविर सञ्चालन गर्न लागेका हौँ,” अध्यक्ष गिरीले भनिन् । उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका गाउँकार्यपालिका सदस्य चम्फा भुसाल, ब्रह्रमा कुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग शाखा पाखापानीका प्रमुख यमुना गिरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति उत्तम अधिकारी, समाजसेवी तथा बुद्धिजीवी किरण भण्डारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी तथा युवायुवतीहरूको उपस्थिति रहने रहेको थियो ।
एक महिना सम्म सञ्चालन हुने शिविरमा दैनिक बिहान नियमित रूपमा योग अभ्यास र जुम्बा फिटनेस प्रशिक्षण दिइने छ । शिविरको प्रशिक्षकको रूपमा अनिता महतरा रहनु भएको छ । महतरा लामो समयदेखि योग र फिटनेस प्रशिक्षणमा सक्रिय रहँदै आएकीे प्रशिक्षक हुन् । कार्यक्रम अन्तर्गत सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम, ध्यान अभ्यास तथा जुम्बा नृत्यमार्फत फिटनेस प्रशिक्षण दिइने छ । आयोजकका अनुसार कार्यक्रममा महिला, पुरुष, युवा, ज्येष्ठ नागरिक सबैले सहभागिता जनाउन सक्ने छन् । कार्यक्रमलाई सफल बनाउन अष्ट्रेलियामा रहनु भएका केन्द्रका उपाध्यक्ष विशाल गिरीले सहयोग गरेका थिए । केन्द्रका सदस्य निलम गाहामगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
