चार दशकको शिक्षणपेशा पछि ६० वर्षिय ‘पाठक सर’ अब संसदमा : काे हुन् पाठक सर ?



चार दशकको शिक्षणपेशा पछि ६० वर्षिय ‘पाठक सर’ अब संसदमा : काे हुन् पाठक सर ?

देउखुरी २४ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनले नयाँ राजनीतिक सन्देश दिएको छ ।

चार दशक शिक्षण पेशामा बिताएका देवराज पाठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ऐतिहासिक विजय हासिल गर्दै संघीय संसदमा प्रवेश गरेका छन् । ६० वर्षको उमेरमा उनले संसदीय यात्रा तय गर्दै अनुभवी राजनीतिक नेताहरूलाई पराजित गरेका छन् । पाठकले नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरी तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीलाई पछाडि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । लामो समय शिक्षण पेशामा रहेर ‘पाठक सर’का रूपमा चिनिएका उनी अब नीति निर्माण गर्ने सर्वोच्च तह संसदमा पुगेका छन् ।

शिक्षकबाट सांसदसम्मको यात्रा
२०२२ साल चैत महिनामा दाङको गढवा गाउँपालिका–६ गढवामा जन्मिएका पाठकले आफ्नो जीवनको ठूलो हिस्सा शिक्षण पेशामा बिताएका छन् । विद्यार्थी जीवन देखि नै अध्ययनप्रति रुचि राख्ने उनले २०४० सालमा देउखुरी स्थित जनता माध्यमिक विद्यालय वनगाउँबाट प्रवेशिका (एसएलसी) उत्तीर्ण गरेका थिए । उच्च शिक्षाका लागि उनले वाणिज्य शास्त्रमा स्नातक अध्ययन पूरा गरे । त्यसपछि समाज विज्ञानप्रति रुचि बढ्दै जाँदा उनले २०५६ सालमा समाजशास्त्रमा स्नातकोत्तर गरे ।

ज्ञानको दायरा विस्तार गर्ने क्रममा उनले २०५८ सालमा सामाजिक मूल्य विषयमा अर्को स्नातकोत्तर उपाधि पनि हासिल गरेका छन् । चार दशकभन्दा बढी समय शिक्षण क्षेत्रमा बिताएका पाठकले हजारौँ विद्यार्थीलाई शिक्षा दिएका छन् । विद्यालय र समुदायमा ‘पाठक सर’ भनेर चिनिने उनी शिक्षक पेशामा इमान्दार, अनुशासित र सामाजिक रूपमा सक्रिय व्यक्तिका रूपमा परिचित थिए ।

शिक्षक संघ हुँदै राजनीतिमा प्रवेश
पाठक शिक्षण पेशासँगै शिक्षक आन्दोलनमा पनि सक्रिय थिए । नेपाल शिक्षक संघमा लामो समय काम गर्दै उनले जिल्ला उपसभापतिको जिम्मेवारी समेत निर्वाह गरेका छन् । शिक्षक संघमा सक्रिय हुँदा उनी नेपाली कांग्रेस निकट रहेर संगठनात्मक गतिविधिमा संलग्न थिए । तर पछिल्ला वर्षहरूमा देशको राजनीतिक अवस्था प्रति असन्तुष्टि बढ्दै जाँदा उनले नयाँ राजनीतिक विकल्प खोज्ने निर्णय गरे । यही क्रममा २०७९ सालमा उनले शिक्षण पेशा र शिक्षक संघ सँगको सक्रियता त्याग्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे । रास्वपामा प्रवेश गरेपछि उनी छोटो समयमै पार्टीको संगठन विस्तारमा सक्रिय बने। अहिले उनी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभापतिको जिम्मेवारीमा रहेका छन् ।

दोस्रो प्रयासमा सफलता
पाठकले प्रतिनिधि सभा सदस्यका लागि पहिलो पटक २०७९ सालको निर्वाचनमा उम्मेदवारी दिएका थिए । त्यसबेला पनि उनले दाङ–१ बाट रास्वपाको उम्मेदवार बनेर प्रतिस्पर्धा गरेका थिए । २०७९ सालको निर्वाचनमा उनले १३ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए । तर त्यति बेला कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनबाट उम्मेदवार बनेका मेटमणि चौधरी २६ हजार ५ सय ७६ मत प्राप्त गर्दै विजयी भएका थिए ।

यस अघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि यही क्षेत्रबाट मेटमणि चौधरी तत्कालीन एमालेबाट उम्मेदवार बनेका थिए । उनले ३७ हजार ९ सय ८ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यसैले यस पटकको निर्वाचन पाठकका लागि निकै चुनौतीपूर्ण थियो । दुई पटक सांसद् निर्वाचित भइसकेका तथा मन्त्रीसमेत भइसकेका चौधरीसँग प्रतिस्पर्धा गर्नु सजिलो थिएन । तर जनताको समर्थन बढ्दै जाँदा दोस्रो प्रयासमै पाठकले विजय हासिल गर्दै संसद प्रवेश गर्ने अवसर पाए ।

अनुभवी नेता माथि विजयी
यसपटकको निर्वाचनमा पाठकले प्रतिस्पर्धा गरेका नेताहरू नेपाली राजनीतिमा अनुभवी मानिन्छन् । पूर्वसहरी विकास मन्त्री मेटमणि चौधरी दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका नेता हुन् । त्यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी पनि राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिन्छन् । योगेन्द्र चौधरी २०७० सालमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिकतर्फ संविधानसभा सदस्य बनेका थिए ।

यस्तै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी पनि यसपटक पाठकका मुख्य प्रतिस्पर्धी मध्ये एक थिए । नेकपा (माओवादी केन्द्र) का नेता केसीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । केसी २०७४ सालमा रोल्पा क्षेत्र नम्बर १ (१) बाट माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल अल्पमतमा परेपछि २०७८ साउन २८ गते केसी मुख्यमन्त्री बनेका थिए। उनले २०७९ पुस २७ गतेसम्म प्रदेश सरकारको नेतृत्व गरेका थिए । यस्तै नेकपा एमालेबाट केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा घिमिरे पनि निर्वाचनमा प्रतिस्पर्धामा थिए । घिमिरे २०५४ सालमा चैलाही गाविस अध्यक्ष र २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएका नेता हुन् । यस्ता अनुभवी नेताहरूसँग प्रतिस्पर्धा गर्दै पाठकले जनताको विश्वास जित्नु उनका लागि ठूलो उपलब्धि मानिएको छ ।

“जनताको विश्वासलाई कामले उत्तर दिनेछु”

निर्वाचन परिणामपछि नवनिर्वाचित सांसद पाठकले जनताको विश्वासप्रति आभार व्यक्त गरेका छन् । उनले जनताले दिएको भारी मतले आफूलाई उत्साहित मात्र नभई अझ बढी जिम्मेवार बनाएको बताए । “जनताले हामीलाई धेरै नै विश्वास गरेर भारी मत दिएका छन् । यो मतको सम्मान गर्दै जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने जिम्मेवारी थपिएको छ,” उनले भने । उनका अनुसार राजनीतिमा प्रवेश गर्नुको उद्देश्य नै नीति निर्माण तहमा सकारात्मक परिवर्तन ल्याउनु हो । पाठकले शिक्षण पेशामा रहँदा प्राप्त गरेको ‘सर’को सम्मानलाई राजनीतिमा पनि कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “शिक्षक हुँदा समाजले दिएको सम्मानलाई राजनीतिमा पनि उँचो राख्ने प्रयास गर्नेछु,” उनले भने, “राजनीतिमा देखिएका विसंगति सुधार गर्न र जनताको पक्षमा काम गर्न मेरो भूमिका रहनेछ। ”

शिक्षण अनुभव अब संसदीय अभ्यासमा
चार दशक शिक्षण क्षेत्रमा बिताएका पाठक अब संसदमा नीति निर्माणको भूमिकामा रहने छन् । शिक्षणबाट प्राप्त अनुभव, सामाजिक सम्बन्ध र जनतासँगको निकटतालाई उनले संसदीय अभ्यासमा प्रयोग गर्ने बताएका छन् । स्थानीय समाजका समस्या, शिक्षा क्षेत्रका चुनौती र विकासका आवश्यकताबारे राम्रो ज्ञान भएकाले संसदमा पुगेपछि त्यसलाई नीति र कार्यक्रममार्फत समाधान गर्ने उनको योजना छ । दाङ–१ का मतदाताले पनि शिक्षण क्षेत्रबाट आएका प्रतिनिधिले विकास, शिक्षा, सुशासन र पारदर्शितामा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरेका छन् । यसरी चार दशक सम्म विद्यार्थीलाई ज्ञान बाँड्दै आएका ‘पाठक सर’ अब संसदमा पुगेर देशको नीति निर्माणमा योगदान दिने तयारीमा छन् । जनताले दिएको विश्वासलाई व्यवहारिक काममार्फत प्रमाणित गर्नु अहिले उनको सबैभन्दा ठूलो चुनौती र अवसर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे