दाङ–१ मा मतदानको सम्पूर्ण तयारी पुरा : बिहान ७ बजे देखि मतदान सुरु हुने
दाङ २० फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
सम्बन्धित निर्वाचन अधिकृतहरूका अनुसार मतदान कार्य बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण प्राविधिक तथा प्रशासनिक व्यवस्था मिलाइएको जनाइएको छ। निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रहरूमा आवश्यक मतपत्र, मतपेटिका, निर्वाचन सामग्री तथा कर्मचारी खटाइसकिएको जनाएको छ। सबै मतदान स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा सतर्कता अपनाइएको सम्बन्धित निकायले जनाएको छ। यस निर्वाचन क्षेत्र अन्तर्गत पर्ने राप्ती गाउँपालिकाका सबै मतदान स्थलहरूमा समेत तयारी पूरा भएको छ। राप्ती गाउँपालिकाका ९ वटै वडा भित्र ११ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी खटाइएको जनाएको छ।
निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा स्थानीय प्रशासनबीच समन्वय बैठक समेत सम्पन्न भइसकेको छ। आचारसंहिता पूर्णरूपमा पालना गर्न सबै पक्षलाई आग्रह गरिएको छ। निर्वाचन आचारसंहिता विपरीतका गतिविधि देखिएमा तुरुन्त कारबाही गरिने चेतावनी समेत दिइएको छ। मतदाताहरूलाई समयमै आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ। मतदाता परिचयपत्र वा आधिकारिक परिचय खुल्ने कागजात अनिवार्य साथमा ल्याउन निर्वाचन अधिकृतले अनुरोध गरेका छन्। वृद्ध, अशक्त तथा अपांगता भएका मतदाताका लागि आवश्यक सहजीकरणको व्यवस्था समेत गरिएको छ। यसपटकको निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्वका रूपमा हेरिएको छ। स्थानीय तहदेखि जिल्लास्तर सम्मका निकायले समन्वयात्मक रूपमा काम गरिरहेका छन्। मतदान सम्पन्न भएपछि मतगणना कार्य निर्धारित स्थानमा गरिनेछ र परिणाम सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ। दाङ निर्वाचन क्षेत्र नम्बर १ मा शान्तिपूर्ण र व्यवस्थित ढंगले निर्वाचन सम्पन्न गराउन सबै तयारी अन्तिम चरणमा पुगेको छ। प्रशासनले मतदातालाई निर्धक्क र उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेको छ।
