राप्ती आधारभूत अस्पतालद्वारा निर्वाचन स्वास्थ्य कार्यदल गठन, मतदान अवधीभर विशेष आकस्मिक सेवा
सिसहनियाँ १९ फागुन । आगामी फागुन २१ ग्ते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्वास्थ्य क्षेत्रबाट आवश्यक तयारी तीव्र पारिएको छ ।
दाङ जिल्लाको राप्ती गाउँपालिका–५ कालापानीमा अवस्थित राप्ती आधारभूत अस्पतालले निर्वाचन अवधिभर हुन सक्ने सम्भावित आकस्मिक घटनालाई मध्यनजर गर्दै ‘निर्वाचन स्वास्थ्य कार्यदल’ गठन गरेको छ । निर्वाचन जस्तो संवेदनशील राष्ट्रिय प्रक्रियाका क्रममा भीडभाड, सवारी दुर्घटना, आकस्मिक स्वास्थ्य समस्या, झडप वा अन्य अप्रत्याशित घटनाबाट घाइते हुन सक्ने व्यक्तिहरूलाई तत्काल र प्रभावकारी उपचार उपलब्ध गराउने उद्देश्यले अस्पतालले विशेष तयारी थालेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार निर्वाचन अवधिभर स्वास्थ्य सेवा प्रभावकारी, द्रुत र समन्वित बनाउन कार्यदल गठन गरिएको हो ।
आकस्मिक अवस्थाका लागि पूर्व तयारी
अस्पतालले निर्वाचन अवधिमा आकस्मिक सेवा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति परिचालन, औषधि तथा उपकरण तयारी, एम्बुलेन्स सेवा समन्वय र रिफरल प्रणालीलाई सुदृढ बनाएको जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राथमिक उपचार कक्षलाई तयारी अवस्थामा राखिएको छ । भने आवश्यक औषधि, सलाइन, पट्टी सामग्री, जीवनरक्षक औषधि लगायतका सामग्री पर्याप्त मात्रामा मौज्दात गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मेडिकल अधिकृत डा. रञ्जित घिमिरेका अनुसार निर्वाचन अवधिमा आकस्मिक कक्ष २४ सैं घण्टा सञ्चालनमा रहने छ । आवश्यक परे थप स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
कार्यदलको संरचना र जिम्मेवारी
गठित ‘निर्वाचन स्वास्थ्य कार्यदल’को संयोजकमा मेडिकल अधिकृत डा. शृजन एस.के.नियुक्त भएका छन् । उनको नेतृत्वमा एम.ए नारायण गौतम, अहेव गोमा खत्री तथा कार्यालय सहयोगी बिमला खत्री सदस्यका रूपमा रहेका छन् ।
कार्यदलको मुख्य जिम्मेवारी निर्वाचन अवधिभर अस्पतालको आकस्मिक सेवा प्रभावकारी रूपमा सञ्चालन गर्नु, सम्भावित घाइते वा बिरामीको शीघ्र उपचार सुनिश्चित गर्नु, तथा आवश्यकता अनुसार उच्च स्वास्थ्य संस्थामा सिफारिस (रेफर) गर्ने प्रक्रिया छिटो र व्यवस्थित बनाउनु हो । मेडिकल अधिकृत डा. रञ्जित घिमिरेले मतदानको समयमा हुन सक्ने सम्भावित स्वास्थ्य आपतकाल र असामान्य घटनाहरूलाई मध्यनजर गर्दै यो टोली गठन गरिएका र यो टोली विपद् व्यवस्थापनको शैलीमा ’स्ट्यान्डबाइ’ रहने बताए ।
निर्वाचनको समयमा स्वास्थ्य सेवा कुनै पनि हालतमा प्रभावित नहुने गरी तयारी गरिएको बताए । उनका अनुसार, “निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो । यस अवधिमा कुनै पनि आकस्मिक घटना भएमा तत्काल उपचार उपलब्ध गराउनु हाम्रो दायित्व हो । त्यसका लागि अस्पताल पूर्ण रूपमा तयारी अवस्थामा छ ।” यो टोली आवश्यकता अनुसार घटनास्थलमै पुगेर सेवा दिन सक्ने गरी तयार पारिएको बताइएको छ । नियमित आकस्मिक कक्ष भन्दा छुट्टै रहने गरी यो टोलीमा मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट र अन्य स्वास्थ्यकर्मीहरूलाई ’रेडी’ अवस्थामा राखिएको छ । अस्पतालले आफ्नो १५ बेडको मौजुदा क्षमता र उपलब्ध स्रोत–साधन अनुसार घाइतेहरूको व्यवस्थापन र उपचार गर्ने छ ।
उच्च स्वास्थ्य संस्थासँग समन्वय
अस्पतालले जटिल प्रकृतिका घाइते वा बिरामीलाई समयमै उच्च स्वास्थ्य संस्थामा पठाउन समन्वय प्रणाली तयार गरेको जनाएको छ । आवश्यक परे भालुवाङ अस्पताल, लमही अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग सम्पर्क गरी एम्बुलेन्स मार्फत बिरामी पठाउने व्यवस्था मिलाइएको छ । यसका साथै अस्पतालले स्थानीय सुरक्षा निकाय र गाउँपालिका कार्यालय सँग समेत समन्वय कायम राखेको छ, ताकि कुनै पनि आकस्मिक घटनामा छिटो सूचना आदान–प्रदान र उद्धार कार्य सम्भव होस् ।
सम्पर्क र सूचना व्यवस्था
निर्वाचन अवधिमा स्वास्थ्य सम्बन्धी कुनै पनि आकस्मिक सहयोग आवश्यक परे अस्पतालका स्वास्थ्य सहायक मनमाया रोका तथा मेडिकल अधिकृत डा. रञ्जित घिमिरे सँग सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । अस्पतालले सर्वसाधारणलाई आवश्यक पर्दा ढिलाइ नगरी सम्पर्क गर्न आग्रह गरेको छ । सूचना प्रवाहलाई व्यवस्थित बनाउन अस्पतालले आन्तरिक सूचना प्रणाली सक्रिय बनाएको छ ।
स्थानीयको सकारात्मक प्रतिक्रिया
निर्वाचनलाई लक्षित गरी स्वास्थ्य संस्थाले पूर्वतयारी गर्नु सकारात्मक कदम भएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार निर्वाचनका समयमा भीडभाड र आवतजावत बढ्ने भएकाले आकस्मिक स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा अस्पतालको तयारीले सर्वसाधारणमा विश्वास बढाएको छ । एक स्थानीयले भने, “निर्वाचन लोकतन्त्रको पर्व हो । तर, यस क्रममा कहिले काहीँ अप्रिय घटना पनि हुन सक्छन् । अस्पतालले समयमै कार्यदल गठन गरेर जिम्मेवारी देखाएको छ, जुन सराहनीय छ ।”
सुरक्षित र शान्तिपूर्ण निर्वाचनमा स्वास्थ्य क्षेत्रको भूमिका
निर्वाचन सफल बनाउन सुरक्षा, प्रशासन र राजनीतिक दलहरूको भूमिका जत्तिकै स्वास्थ्य क्षेत्रको तयारी पनि महत्वपूर्ण मानिन्छ । कुनै पनि आकस्मिक घटना भएमा तत्काल उपचार उपलब्ध हुनु निर्वाचनको समग्र व्यवस्थापनका लागि आवश्यक पक्ष हो । राप्ती आधारभूत अस्पतालले स्वास्थ्य सेवा प्रभावित नहुने गरी पूर्वतयारी गरेसँगै निर्वाचन अवधिमा नागरिकको स्वास्थ्य सुरक्षामा थप भरोसा मिलेको छ । अस्पताल प्रशासनले निर्वाचन अवधिभर सेवामा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै गरिएको यो स्वास्थ्य तयारीले लोकतान्त्रिक प्रक्रियामा स्वास्थ्य संस्थाको उत्तरदायित्व र संवेदनशीलता दुवै झल्काएको छ । आकस्मिक परिस्थितिमा छिटो उपचार, समन्वय र सेवा प्रवाह सुनिश्चित गर्न गठन गरिएको ‘निर्वाचन स्वास्थ्य कार्यदल’ले निर्वाचन अवधिमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । दाङको देउखुरी क्षेत्रमा अवस्थित यो १५ बेडको अस्पताल स्थानीय तहको एक प्रमुख स्वास्थ्य केन्द्र हो । यसले २४ सैं घण्टा आकस्मिक सेवा, बहिरङ्ग, भर्ना, प्रयोगशाला, भिडियो एक्स–रे र प्रसूति सेवा लगायतका आधारभूत तथा विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ । अस्पतालले निर्वाचनको दिन फागुन २१ गते स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन र नागरिकको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको डा. घिमिरेले जानकारी दिएका छन् ।
