बुधबार मध्यरात देखि बिहीबार साँझ ५ बजे सम्म यातायात बन्द



बुधबार मध्यरात देखि बिहीबार साँझ ५ बजे सम्म यातायात बन्द

काठमाडौँ २० फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी बुधबार राति १२ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा व्यवस्थालाई कडाइ गर्दै मतदान सम्पन्न नहुन्जेल सम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुने छन्।

आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चानलमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार, बुधबार राति १२ बजे देखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । ‘आज राति १२ बजेबाट भोली मतदानको कार्य सम्पन्न नहुन्जेल सम्म अथवा भोलिको साँझ ५ बजेसम्म सवारीसाधन आवागमनमा निषेध गर्ने गरी निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । सो बमोजिम अति आवश्यक सेवाका केही सवारीसाधन बाहेक अन्य सवारीसाधनहरू चलाउन नपाइने अवस्था हुन्छ,’ उनले भने।

मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए । उनका अनुसार, आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । सूचना अधिकारी घिमिरेका अनुसार अतिआवश्यक सेवाका सवारी एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ ।

साथै, कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ । सम्पूर्ण मतदाता तथा यात्रुहरूलाई आफ्ना गन्तव्यमा पुग्नुपर्ने भए सवारीसाधन बन्द हुनुअगावै पुगिसक्न सूचना अधिकारी घिमिरेले आग्रह गरे । आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

देश सञ्चारबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे