दाङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति प्रदर्शन



दाङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति प्रदर्शन

भालुवाङ १७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै दाङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शक्ति प्रदर्शन गरेको  छ।

प्रत्यक्षतर्फका उम्मेदवार देवराज पाठकको नेतृत्वमा आयोजित चुनावी विशाल र्यालीले निर्वाचन क्षेत्रका विभिन्न स्थान परिक्रमा गर्दै मतदातासँग घण्टीमा मतदान गर्न गरेका छन् । भालुवाङबाट सुरु भएको र्याली लमही, सतवरिया, राजपुर हुँदै गढवा क्षेत्रका विभिन्न स्थानमा पुगेको थियो। सयौंको संख्यामा मोटरसाइकल, माइक्रोबस र जिप कारसहितको र्यालीमा सहभागी कार्यकर्ता तथा समर्थकहरूले पार्टीको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गर्न अपिल गरेका थिए। त्यस्तै उम्मेदवार पाठकले मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन् । रास्वपाले यस पटक दाङ क्षेत्र नं. १ मा नयाँ राजनीतिक अभ्यास र पारदर्शी नेतृत्वको प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएको जनाएको छ। उम्मेदवार पाठकले देशको राजनीतिक प्रणालीप्रति जनतामा बढ्दो निराशालाई सकारात्मक परिवर्तनतर्फ रूपान्तरण गर्न आफ्नो उम्मेदवारी भएको बताए। “राजनीति सेवा हो, सत्ताको साधन होइन,” उनले भने, “जनताले विश्वास गरे परिवर्तन सम्भव छ, र त्यो परिवर्तनको आधार इमानदार नेतृत्व हो।” र्यालीमा युवाहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। उनीहरूले रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा व्यक्त गर्दै पुराना राजनीतिक अभ्यासबाट निराश भएको प्रतिक्रिया दिएका थिए। स्थानीय युवाहरूले वैकल्पिक राजनीतिक शक्तिप्रति आकर्षण बढ्दो रहेको बताएका छन्।

पार्टीका नेताहरूले दाङ क्षेत्र नं. १ मा आफूहरूको संगठन विस्तार भइरहेको दाबी गरेका छन्। उनीहरूका अनुसार निर्वाचन नजिकिँदै जाँदा घरदैलो कार्यक्रम, अन्तरक्रिया र साना सभा मार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क बढाइएको छ। पार्टीका कार्यकर्ताहरूले जनताको समस्या सुन्ने र समाधानका स्पष्ट योजना प्रस्तुत गर्ने अभियान सञ्चालन गरिरहेको बताएका छन्। र्यालीले भालुवाङ, सिसहनियाँ, लमही र गढवा बजार क्षेत्रमा विशेष ध्यानाकर्षण गरेको थियो। बजार क्षेत्रका व्यापारी तथा सर्वसाधारणले र्यालीलाई चासोका साथ अवलोकन गरेका थिए।  उम्मेदवार पाठकले दाङ क्षेत्र नं. १ को समग्र विकासलाई प्राथमिकतामा राखेको बताए। उनले कृषि उत्पादनको बजारीकरण, युवालाई सीप र रोजगारी, सडक पूर्वाधार सुधार, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्रमुख लक्ष्य बनाएको उल्लेख गरे। “विकास भाषणले होइन, योजनाको कार्यान्वयनले हुन्छ,” उनले भने, “हामी वाचा होइन, कामको आधारमा मूल्यांकन हुन तयार छौं।”

रास्वपाले चुनावी अभियानमा सामाजिक सञ्जालको समेत प्रभावकारी प्रयोग गरिरहेको जनाएको छ। पार्टीका युवा कार्यकर्ताहरूले डिजिटल माध्यमबाट मतदातासँग सम्पर्क बढाउँदै सूचना प्रवाह गरिरहेका छन्। उनीहरूले पारदर्शी शासन, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी नेतृत्वको सन्देश व्यापक रूपमा प्रचार गरिरहेका छन्। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार दाङ क्षेत्र नं. १ मा यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। विभिन्न दलहरूले आ–आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न तीव्र अभियान सञ्चालन गरिरहेका छन्। यस्तो अवस्थामा रास्वपाको शक्ति प्रदर्शनले चुनावी माहोल थप तातेको आकलन गरिएको छ। निर्वाचन आयोगले मतदातालाई शान्तिपूर्ण र निष्पक्ष मतदानमा सहभागी हुन आग्रह गरिरहेको छ। आयोगका अनुसार निर्वाचन आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न सबै राजनीतिक दललाई निर्देशन दिइएको छ। सुरक्षा निकायले पनि निर्वाचन क्षेत्रका संवेदनशील स्थानमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जनाएको छ।

दाङ क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा मतदाताको चासो पनि बढ्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरूले आफ्ना एजेन्डा सार्वजनिक गर्दै घरदैलो अभियानलाई तीव्रता दिएका छन्। रास्वपाको शक्ति प्रदर्शनले निर्वाचनको प्रतिस्पर्धात्मक वातावरण थप सक्रिय बनेको देखिएको छ। आगामी फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै राजनीतिक दलहरू अन्तिम तयारीमा जुटेका छन्। मतदाताले विकास, सुशासन र विश्वासयोग्य नेतृत्वको आधारमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे