होली आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक : मुख्यमन्त्री आचार्य



होली आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक : मुख्यमन्त्री आचार्य

दाङ १८ फागुन । रङ्गहरुको पर्व फागुपूर्णिमा (होली) पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले दिएको शुभकामना सन्देशमा होली केवल रङ्ग खेल्ने पर्व मात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको उल्लेख गरेका छन् । विविध जातजाति, भाषा र संस्कृतिको सुन्दर संगम रहेको लुम्बिनी प्रदेशमा यस्ता पर्वहरुले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । उनले मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा र सांस्कृतिक अभ्यासहरुको संरक्षण तथा प्रवद्र्धनबाट मात्र दिगो समृद्धिको आधार निर्माण गर्न सकिने बताए । सांस्कृतिक सम्पदालाई पर्यटन, उद्यम र स्थानीय उत्पादनसँग जोड्दै आर्थिक अवसर विस्तार गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले आफ्नो पहिचान जोगाउँदै नयाँ पुस्तालाई संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। सांस्कृतिक विविधतामै प्रदेशको शक्ति निहित रहेको उल्लेख गर्दै उनले होलीजस्ता पर्वहरु सभ्य, मर्यादित र सकारात्मक सन्देश दिने गरी मनाउन आग्रह गरेका छन्। पर्व मनाउने नाममा कुनै पनि प्रकारको विकृति, विसंगति र अवाञ्छित गतिविधिलाई प्रश्रय दिन नहुने स्पष्ट पार्दै उनले जबर्जस्ती रंग दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा अरुको स्वतन्त्रता र सुरक्षामा असर पर्ने गतिविधि अस्वीकार्य हुने बताएका छन् । सबैले जिम्मेवार र अनुशासित व्यवहार गर्दै सुरक्षित वातावरणमा पर्व मनाउन उनले आग्रह गरेका छन् । होली पर्वले आपसी विश्वास, सद्भाव र सहकार्यको भावना अझ प्रगाढ बनाउने विश्वास उहाँले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे