दाङ क्षेत्र नं. १ मा एमालेकाे चुनावी घरदैलो कार्यक्रम तीव्र : सुर्यचिन्हमा मतदान गर्न अपिल
भालुवाङ १७ फागुन । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएकाे छ। उम्मेदवार रेवतीरमण शर्माकाे पक्षमा मतदान गर्न आग्रह गर्दै राप्ती गाउँपालिका सहित देउखुरीका ४ वटा स्थानीय तह र घाेराही उपमहानगरपालिकाकाे वडा नम्बर १, २, ३ र ५ का विभिन्न वडा तथा टाेलहरूमा घरदैलो कार्यक्रम गरिरहेकाे छ।
एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका शर्माले चुनावी अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्याउने रणनीति अवलम्बन गरेका छन्। पछिल्ला दिनहरूमा राप्ती गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका विभिन्न बस्तीहरूमा कार्यकर्ता तथा समर्थकहरूको सहभागितामा घरदैलो कार्यक्रम सञ्चालन गरिएको एमाले स्रोतले जनाएको छ। अभियानका क्रममा स्थानीय नागरिकसँग विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका विषयमा छलफल गरिएको बताइएको छ। घरदैलो कार्यक्रमका अवसरमा उम्मेदवार शर्माले सूर्य चिन्हमा मतदान गरी आफूलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासँग अपिल गरेका छन्। उनले दाङ क्षेत्र नम्बर १ को समग्र विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै स्थायित्व, सुशासन र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्।
चुनावी अभियानमा सहभागी एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूले राप्ती गाउँपालिकामा पार्टीप्रति जनसमर्थन उत्साहजनक रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार घरदैलोका क्रममा अधिकांश मतदाताले विकास र स्थिर राजनीतिक नेतृत्वको पक्षमा मतदान गर्ने संकेत दिएका छन्। विशेषगरी कृषि उत्पादनको बजारीकरण, सिंचाइ सुविधा विस्तार, सडक स्तरोन्नति, बाढी नियन्त्रण तथा युवाका लागि स्वरोजगार कार्यक्रम जस्ता विषय मतदाताको चासोका रूपमा देखिएको जनाइएको छ। दाङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने यहाँका ग्रामीण बस्तीहरूमा सडक, स्वास्थ्य चौकी, विद्यालय भवन तथा खानेपानीजस्ता आधारभूत पूर्वाधारको आवश्यकता अझै रहेको स्थानीयले बताउने गरेका छन्। यस्ता आवश्यकतालाई सम्बोधन गर्ने स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै आफू चुनावी मैदानमा उत्रिएको उम्मेदवार शर्माको भनाइ छ।
एमालेले दाङ क्षेत्र नम्बर १ लाई जित्ने मुख्य आधारका रूपमा संगठन सुदृढीकरण, घरदैलो मार्फत प्रत्यक्ष सम्पर्क र विगतका उपलब्धिहरूलाई अघि सारेको छ। पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आग्रह गर्दै उम्मेदवार शर्माले “समृद्ध दाङ–१ निर्माणका लागि तपाईंहरूको अमूल्य मत आवश्यक छ” भन्ने सन्देश दिइरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा दाङ क्षेत्र नम्बर १ मा राजनीतिक दलहरूको गतिविधि तीव्र बन्दै गएको छ। यसैबीच एमालेका उम्मेदवार रेवतीरमण शर्माले निर्वाचन क्षेत्रका सबै वडाहरुमा अभियानलाई अझ सशक्त बनाउँदै व्यापक जनसमर्थन जुटाउने रणनीति सहित प्रचार–प्रसारलाई निरन्तरता दिएका छन्।
