बड्डाँडामा मगर दिवस मनाइयाे, गाउँपालिकाले मगर भाषा संरक्षणमा ध्यान दिएको छ : उपाध्यक्ष खड्का
प्युठान १५ फागुन । नेपाल मगर संघ मगर दिवस आयोजक समिति सरूमारानी गाउँपालिका-४ बड्डडाँडाको आयोजनामा मगर दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष देवीराम रेश्मी मगरको अध्यक्षता एवम् सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले मगरहरूको भाषा संरक्षणका लागि गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी लगाएको बताएकी छिन् । उनले गाउँपालिका भित्रका १३ वटा सामुदायिक विद्यालयमा मगर खाम भाषाको पढाइ सुरू भएको बताइन् । उपाध्यक्ष खड्काले सरकारले मात्र भाषा संरक्षणका लागि लगानी लगाएर हुँदैन त्यसका लागि मगर समुदायले पनि ध्यान दिनुपर्ने बताइन् । उनले मगर समुदायको कला, संस्कृति र पोशाक लोपहुँदै जान थालेकाले त्यस तर्फ पनि ध्यान दिन आग्रह गरिन् । उनले भेषभुषा, चार्डपर्वको समेत संरक्षण कसरी गर्ने र समाजलाई सुधार गर्ने विषयमा मगर संघले ध्यान दिन सुझाव दिइन्।
तुलसीराम सारु मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नेपाल मगर संघ मगरात लुम्बिनी प्रदेश उपाध्यक्ष इराधा झार्कीमगर, सरूमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्ता चिन्ताबहादुर सोमै मगर, सरस्वती मावि बाङगेशालका प्रधानाध्यापक भक्तबहादुर मस्याङदी मगर, खड्केश्वरी मावि दर्भानका प्रधानाध्यापक सुन्दर भण्डारी, समाजसेवी तथा बुद्धिजीवी नुमबहादुर खाम्चा मगर, समाजसेवी तथा बुद्धिजीवी जुक्त बहादुर मगर लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त थिए । कार्यक्रममा बहुचर्चित गायक बद्री पंगेनी, माेडेल तथा डान्सर अस्मिता शर्मा, डान्सरहरू गाेमा पाैडेल, मिरा घर्ती मगर, मनाेज पुन मगर सहित स्थानीय कलाकारहरूले विभिन्न प्रस्तुति मार्फत दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । कार्यक्रमको सञ्चालन मगर अगुवा किसान सारू मगर र सञ्चारकर्मी प्यार अलि खानले गरेका थिए।

