राप्ती गाउँपालिकाले दियाे मगर दिवसको सार्वजनिक बिदा



राप्ती गाउँपालिकाले दियाे मगर दिवसको सार्वजनिक बिदा

भालुवाङ १४ फागुन । राप्ती गाउँपालिकाले ४४ औँ मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मगर दिवसकाे विशेष शुभकामना व्यक्त गर्दै गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

नेपालमा सबैभन्दा बढी जनसंख्या रहेको आदिवासी समुदायमध्ये एक मगर समुदायको ऐतिहासिक पहिचान, भाषा, संस्कृति र परम्परालाई सम्मान गर्दै मनाइने मगर दिवसका अवसरमा गाउँपालिकाले बिहिवार एक शुभकामना सहितकाे सुचना जारी गर्दै गाउँपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण आदरणीय जनसमुदाय, विशेष गरी मगर दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरेको छ।

मगर जातिको बाहुल्यता र विशिष्ट सांस्कृतिक पहिचान बोकेको राप्ती गाउँपालिकामा यस दिवसको विशेष महत्वलाई मध्यनजर गर्दै गाउँ कार्यपालिकाको निर्णय फागुन १५ गते शुक्रबारका दिन राप्ती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे जनाएको छ। साथै गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पनि उक्त दिन बिदा रहने छ। गाउँपालिकाले आफ्नो मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनले आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता सुदृढ बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट प्रदान गरिने अत्यावश्यक स्वास्थ्य सेवाहरू भने पूर्ववत् रूपमा सञ्चालनमा रहने बताइएकाे छ । गाउँपालिकाले ४४ औँ मगर दिवसलाई सामाजिक सद्भाव र सांस्कृतिक गौरवको पर्वका रूपमा मनाउन सम्पूर्ण सरोकारवालालाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे