सिमा सुरक्षा बलियो भए मात्र देश र जनता सुरक्षित हुन्छन् : डिआइजी अधिकारी
भालुवाङ २ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपक अधिकारीले देशको सुरक्षा र स्थायित्वका लागि सीमाको सुरक्षा मजबुत हुनुपर्ने बताएका छन्। उनले सीमा सुरक्षा प्रभावकारी भए मात्र देश र नागरिकको सुरक्षा सुनिश्चित हुने उल्लेख गरेका छन्।समारोहको उद्घाटनका क्रममा उनले दीप प्रज्वलन गर्नुका साथै अमर सशस्त्र प्रहरी शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेटक्वाटर ज्वालामाई, भालुवाङको २२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै डिआइजी अधिकारीले सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा राष्ट्रिय सुरक्षाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, चोरी–तस्करी रोकथाम तथा राष्ट्रिय हितको संरक्षणका लागि सशस्त्र प्रहरी बल सदैव प्रतिबद्ध रहेको धारणा व्यक्त गरे। उनले देशको समग्र सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी बलको जिम्मेवारी दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै संगठनलाई अझ सक्षम, व्यावसायिक र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए। राष्ट्र र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले निर्वाह गरेको योगदान प्रशंसनीय रहेको उनको भनाइ थियो।
दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले सशस्त्र प्रहरी बलले आफ्नो व्यावसायिक छवि कायम राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनले बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा क्षेत्रको निगरानी, अपराध अनुसन्धान तथा नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढाउनुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी पाण्डेले सुरक्षा निकायहरूबीचको समन्वय र सहकार्यले मात्रै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा कानून कार्यान्वयनमा सशस्त्र प्रहरी बलले उल्लेखनीय योगदान पुर्याएको बताए।सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेटक्वाटर ज्वालामाईका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) यदुकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणले विगत २२ वर्षको अवधिमा गरेका गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराइएको थियो। कार्यक्रममा संगठनको कार्यसम्पादन, सीमा सुरक्षा, विपद् उद्धार तथा सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको समेत चर्चा गरिएको थियो।
भालुवाङ गणका ३८ जना सशस्त्र प्रहरीले राष्ट्र सेवाका क्रममा ज्यान गुमाएका थिए। उनीहरूको सम्मानमा गण परिसरमा शहीद स्मारक निर्माण गरिएको छ। स्थापना दिवसका अवसरमा विभिन्न व्यावसायिक तथा खेलकुद प्रतियोगिताका विजयी सशस्त्र प्रहरी कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रशंसापत्र, सेवानिवृत्त कर्मचारीलाई कदरपत्र तथा अमर शहीदका परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वागत नृत्यसहित सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। वि.सं. २०६० सालमा स्थापना भएको नं. २९ गण हेडक्वाटर ज्वालामाईले हाल दाङ जिल्लाभर रहेका १७ वटा इकाईमार्फत सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा अन्य सुरक्षा सेवा प्रदान गर्दै आएको छ। गणको नेतृत्व हाल २५ औं गणपतिका रूपमा सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीले गरिरहेका छन्। कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
