राप्ती–१ पाखापानीमा महेन्द्रा एण्ड महेन्द्राको आधिकारिक डिलर राप्ती मोटर्स प्रालिको उद्घाटन



राप्ती–१ पाखापानीमा महेन्द्रा एण्ड महेन्द्राको आधिकारिक डिलर राप्ती मोटर्स प्रालिको उद्घाटन

भालुवाङ १० फागुन । दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा प्रख्यात भारतीय अटो मोबाइल कम्पनी महेन्द्रा एण्ड महेन्द्राको टु एस आधिकारिक डिलर राप्ती मोटर्स प्रालिको एक समारोहका बीच उद्घाटन गरिएको छ।उक्त डिलरको उद्घाटन आइतबार एक विशेष कार्यक्रम मार्फत सम्पन्न भएको हो। राप्ती मोटर्स प्रालिका सञ्चालक माधव भुसालको अध्यक्षता तथा कम्पनीका आधिकारिक प्रतिनिधि सोमनाथ धरको प्रमुख आतिथ्यतामा प्रालिको उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोमनाथ धरले महेन्द्र एण्ड महेन्द्रका सवारीसाधनले नेपाली बजारमा वर्षौंदेखि विश्वसनीयता, मजबुती र गुणस्तरका आधारमा छुट्टै पहिचान बनाएको उल्लेख गरे । उनले सेवा विस्तारको यो पहलले ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । “ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो,” उनले भने, “स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा उपभोक्ताले समय र खर्च दुवै बचत गर्न सक्नेछन्।”

राप्ती मोटर्स प्रालिका सञ्चालक माधव भुसालले राप्ती क्षेत्रका ग्राहकलाई लक्षित गरी गुणस्तरीय सेवा, सहज स्पेयर पार्ट्स उपलब्धता र दक्ष प्राविधिक मार्फत मर्मत सेवा प्रदान गर्ने उद्देश्यले दुई–एस डिलर सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार अब ग्राहकले गाडी खरिद सँगै सर्भिस सुविधा समेत आफ्नै क्षेत्रमै प्राप्त गर्न सक्नेछन्। “ग्राहकलाई राजधानी वा टाढा जानुपर्ने बाध्यता अन्त्य गर्ने हाम्रो मुख्य लक्ष्य हो,” भुसालले बताए, “स्थानीय स्तरमै छिटो, भरपर्दो र मापदण्ड अनुसारको सेवा दिने प्रतिबद्धता हाम्रो छ।” राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले नयाँ डिलर स्थापनाले स्थानीय रोजगारी सिर्जना हुनुका साथै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे। उनले यस्ता उद्योग तथा सेवा विस्तारका पहलहरूले ग्रामीण क्षेत्रको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने बताउँदै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए । “स्थानीय तहमा गुणस्तरीय सेवा केन्द्र स्थापना हुनु भनेको आर्थिक गतिशीलताको संकेत हो,” उनले भने, “यसले युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै बजार व्यवस्थालाई पनि सुदृढ बनाउँछ।”

कार्यक्रममा सहभागी अतिथिहरूले डिलरको भौतिक संरचना, सेवा कक्ष, स्पेयर पार्ट्स उपलब्धता तथा प्राविधिक उपकरणहरूको अवलोकन गरेका थिए। आधुनिक मापदण्ड अनुसार निर्माण गरिएको सेवा केन्द्रमा दक्ष प्राविधिक टोली, आवश्यक उपकरण तथा छिटो सेवा प्रवाहका लागि व्यवस्थित प्रक्रिया अपनाइएको व्यवस्थापन पक्षले जनाएको छ। यसले ग्राहक सन्तुष्टि वृद्धि गर्नुका साथै दीर्घकालीन रूपमा ब्रान्डप्रति विश्वास अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। स्थानीय उपभोक्ताहरूका लागि यो डिलर महत्वपूर्ण उपलब्धि मानिएको छ। यसअघि सवारी खरिद वा मर्मत सेवाका लागि टाढा धाउनुपर्ने अवस्थाको अन्त्य हुँदै अब आफ्नै क्षेत्रमा सेवा पाउने भएपछि सर्वसाधारण उत्साहित देखिएका छन्। कार्यक्रम स्थलमा उपस्थित स्थानीयवासीले सेवा सहज, छिटो र भरपर्दो हुने विश्वास व्यक्त गरेका थिए। साथै, स्पेयर पार्ट्सको सहज उपलब्धताले सवारी मर्मतमा हुने ढिलाइ घट्ने र यातायात सेवा नियमित हुने अपेक्षा गरिएको छ।

महेन्द्र एण्ड महेन्द्र ब्रान्डले नेपालमा लामो समयदेखि कृषि, यातायात तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने सवारीसाधनमार्फत लोकप्रियता हासिल गर्दै आएको छ। मजबुत संरचना, टिकाउ प्रविधि र प्रयोगमैत्री डिजाइनका कारण ग्रामीण तथा सहरी दुवै क्षेत्रमा यसको माग उच्च रहेको पाइन्छ। डिलर सञ्चालन सँगै ग्राहकलाई बिक्रीपछिको सेवा, नियमित मर्मत, प्राविधिक परामर्श तथा आवश्यक स्पेयर पार्ट्स एकै स्थानबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ। व्यवस्थापन पक्षका अनुसार ग्राहकको आवश्यकतालाई ध्यानमा राखी सेवा समयलाई व्यवस्थित बनाइने, दक्ष जनशक्ति थपिने र सेवा गुणस्तर निरन्तर उकासिने योजना रहेको छ। यसले दीर्घकालीन रूपमा ग्राहक सन्तुष्टि वृद्धि गर्नुका साथै स्थानीय बजारमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन दिपा पाण्डे पराजुलीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे