किसानको उत्पादित वस्तुको खपत बढाउन राप्ती चेम्बर अफ कमर्सले हाट बजार सञ्चालन गर्ने
भालुवाङ ९ फागुन । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्सले हाट बजार सञ्चालन गर्ने भएको छ । चेम्बरका अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले हाट बजार सञ्चालन गर्ने निर्णय गरेको हो । स्थानीय उत्पादनको बजार सुनिश्चित गर्दै किसानको आयवृद्धि गर्ने उद्देश्यले राप्ती चेम्बर अफ कमर्सले राप्ती गाउँपालिकाको थप १ वटा साप्ताहिक हाट बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले किसानको उत्पादन खपत नहुँदा भइरहेको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरेको हो । चेम्बरका अध्यक्ष कुवर क्षेत्रीका अनुसार राप्ती गाउँपालिकाको वडा नम्बर ३ मसुरीया सिरिचौरमा सञ्चालन हुँदै आएको साप्ताहिक हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका तरकारी तथा खाद्य वस्तुको अपेक्षित खपत हुन नसकेको देखिएको छ। बजार पहुँच, स्थानको उपयुक्तता र उपभोक्ताको सहज आवतजावत जस्ता कारणले उत्पादन बिक्रीमा समस्या आएको निष्कर्षसहित चेम्बरले वैकल्पिक स्थानमा नयाँ हाट बजार सञ्चालन गर्ने तयारी अघि बढाएको हो । नयाँ हाट बजार सञ्चालनका लागि वडा नम्बर ४ को मौरीघाट, वडा नम्बर ५ को सिसहनियाँ र वडा नम्बर ८ को पिपरी मध्ये कुनै एक स्थान छनोट गर्ने प्रस्ताव बैठकले पारित गरेको छ । यी स्थान मध्ये उपयुक्त जग्गा प्राप्तिका लागि गाउँपालिका तथा सम्बन्धित वडा कार्यालयसँग समन्वय र सहजीकरण गर्न औपचारिक पत्राचार गर्ने निर्णय समेत गरिएको छ।
स्थानीय किसानहरूका लागि हाट बजार सञ्चालन अत्यन्त महत्वपूर्ण मानिन्छ। उत्पादन बिक्रीका लागि सहज प्लेटफर्म नहुँदा किसानले उचित मूल्य पाउन नसकेको, उत्पादन खेर जाने र कृषिमा लगानी घट्ने अवस्था देखिएको भन्दै चेम्बरले यस कदमलाई कृषि–आधारित स्थानीय अर्थतन्त्र सुदृढीकरणको महत्वपूर्ण पहलका रूपमा प्रस्तुत गरेको छ। चेम्बरका पदाधिकारीहरूले हाट बजार सञ्चालनपछि किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुने, बिचौलिया निर्भरता घट्ने र स्थानीय उत्पादनको माग बढ्ने विश्वास व्यक्त गरेका छन् । बैठकले चेम्बरको नेतृत्व सम्बन्धी महत्वपूर्ण निर्णय समेत गरेको छ। अध्यक्ष वसन्त बहादुर कुवर क्षेत्री घरायसी कामको सिलसिलामा दुई महिनाका लागि देश बाहिर जाने भएपछि सो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी चेम्बरकी दोस्रो उपाध्यक्ष लक्ष्मी पोख्रेललाई दिने निर्णय गरिएको छ। पोख्रेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै चेम्बरका कार्यक्रमहरू निरन्तरता दिने र हाट बजार सञ्चालनको प्रक्रिया तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
त्यसैगरी चेम्बरको दीर्घकालीन संस्थागत विकासलाई ध्यानमा राख्दै भवन निर्माणका लागि तीन सदस्यीय भवन निर्माण समिति गठन गरिएको छ। समितिको अध्यक्षमा चेम्बरका सल्लाहकार श्यामा रावत नियुक्त भएकी छन् भने सदस्यहरूमा कुमार अधिकारी र शेषकान्त आचार्य रहेका छन्। भवन निर्माण कार्यको अनुगमनका लागि सल्लाहकार नेमलाल शर्मा बेल्वासे र शंकर गौतमलाई जिम्मेवारी दिइएको छ। चेम्बरले आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह व्यवस्थित हुने, व्यवसायीहरूका लागि तालिम तथा बैठक सञ्चालन गर्न सहज हुने अपेक्षा गरेको छ। बैठकले संस्थागत व्यवस्थापन सुदृढीकरणका लागि चेम्बरको नियमित बैठक हरेक महिनाको १० गते बस्ने निर्णय समेत गरेको छ। यस निर्णयले संस्थागत गतिविधि व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ। चेम्बरले आगामी दिनमा स्थानीय उत्पादन प्रवर्द्धन, व्यवसायी सशक्तीकरण र उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ। बैठकमा दोस्रो उपाध्यक्ष लक्ष्मी पोख्रेल, महासचिव खेमराज अर्याल, कोषाध्यक्ष अर्जुन कुमार क्षेत्री, संस्थापक अध्यक्ष कुमार अधिकारी, निर्वतमान अध्यक्ष नेमलाल शर्मा बेल्वासे, सल्लाहकार शेषकान्त आचार्य तथा कार्यसमिति सदस्यहरू मोतीराम भट्टराई, कमल केसी, अरूण केसी, रेकम शर्मा लगायतको उपस्थिति रहेको थियो। बैठकको सहजीकरण महासचिव खेमराज अर्यालले गरेका थिए।

