एमालेको झण्डा जलाएको आरोपमा तुलसीपुरबाट एक जना पक्राउ



एमालेको झण्डा जलाएको आरोपमा तुलसीपुरबाट एक जना पक्राउ

दाङ ८ फागुन । दाङको तुलसीपुरमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–५ बिरेन्द्र चोकमा भएको उक्त घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। गएराति करिब साढे ९ बजेतिर रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजना गरिएको स्वागत कार्यक्रममा भीडभाडका बीच केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले) को झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

घटनापछि अनुसन्धान थालेको प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी रेशम बोहोराका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ भने पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले समाजमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे