देउखुरीमा नेपाल बन्दको आंशिक प्रभाव : विद्यालय बन्द, बजार र यातायात सञ्चालन
भालुवाङ ५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले फागुन २१ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङको देउखुरी क्षेत्रमा आंशिक रूपमा देखिएको छ। बन्दका कारण देउखुरी क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरू बन्द भएका छन्।
यद्यपि, बन्दको प्रभाव बजार र यातायात क्षेत्रमा भने खासै देखिएको छैन। देउखुरी क्षेत्रमा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधनहरू निर्वाध रूपमा सञ्चालनमा रहेका छन्। लमही, सिसहनियाँ, भालुवाङ र गढवा लगायतका प्रमुख बजारहरू पनि खुल्ला रहेका छन्। बजारका मुख्य चोक तथा संवेदनशील स्थानहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।
यसैबीच, नेकपा (बहुमत) का केन्द्रीय सदस्य अमर खड्काले बन्द यथावत रहेको बताएका छन्। उनले बन्दलाई शान्तिपूर्ण बनाउन आफूहरू प्रतिबद्ध रहेको जनाउँदै यातायात व्यवसायी, उद्योगी, व्यापारी, विद्यालय तथा सरकारी–गैरसरकारी कार्यालयहरूलाई बन्द सफल बनाउन आग्रह गरेका छन्।

