राप्तीमा वृहत सिकलसेल जाँच शिविर : ५ सय बढीले लिए स्वास्थ्य सेवा
सिसहनियाँ २८ माघ । दाङको राप्ती गाउँपालिकामा बुधबार सिकलसेल एनिमिया तथा थालेसिमिया सम्बन्धी वृहत परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा राप्ती आधारभूत अस्पताल सिसहनियाँ कालापानीमा शिविर सम्पन्न भएको हाे शिविरमा २ सय ३५ पुरुष र ३ सय २८ महिला गरी कुल ५ सय ६३ जनाले सेवा लिएकाे अस्पताल प्रशासन अधिकृत सालिकराम कालाथोकीले जानकारी दिए। शिविरलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले थारु समुदायमा सिकलसेल एनिमिया गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखिएको उल्लेख गरे । उनले १०० जनाको परीक्षण गर्दा १० देखि १२ जनामा सिकलसेल रोग पुष्टि हुने अवस्था रहेको बताए। ‘प्रदेशका तराईका ६ जिल्लाका अस्पतालहरूमा निरन्तर परीक्षणको सुविधा उपलब्ध छ,’ उनले भने, ‘थारु समुदायका सबैले जाँच गर्नुपर्छ। जन्मिने सबैले चेक गराउनुपर्छ। सिकलसेल रोग लागेको दुई जनाबीच विवाह हुनु हुँदैन, यसो हुँदा सन्तानमा पनि रोग सर्छ।’
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले थारु समुदायमा रगत परीक्षण गरेर मात्र विवाह गर्ने प्रचलन बसाल्नुपर्ने आवश्यकता औँल्याए । ‘आमा र बुवामा सिकलसेल भए सन्तानमा पनि सर्ने सम्भावना हुन्छ,’ उनले भने, ‘त्यसैले रगत परीक्षणलाई अनिवार्य गरी प्रभावकारी परामर्श प्रदान गर्न आवश्यक छ। यस विषयमा स्थानीय सरकारले पहल लिन्छ।’ दाङ जिल्लाका पाँच हजार व्यक्तिको सिकलसेल एनिमिया परीक्षण गर्ने योजना अनुसार निःशुल्क रगत परीक्षण शिविर आयोजना गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराही दाङका निर्देशक डाक्टर जनार्दन पन्थीले जानकारी दिए। ‘यो नेपाल सरकारको प्राथमिकतामा परेको कार्यक्रम हो,’ उनले भने, ‘थारु बाहुल्य क्षेत्रमा सिकलसेलको अवस्था जटिल छ। हाम्रो उद्देश्य भनेको रोगको बहाक पहिचान गरी यसको साङ्लो तोड्नु हो। जबसम्म साङ्लो तोडिँदैन, तबसम्म समस्या फैलिरहन्छ। यो वंशानुगत रोग भएकाले बृहत अभियान सुरु गरेका छौं।’
सिकलसेल रोग विशेषज्ञ डाक्टर अजयराज गौतमले सिकलसेल रक्तकोषिकामा हुने वंशानुगत रोग भएको जानकारी दिए । ‘हाल हामीकहाँ ३ सय २० जना बिरामी उपचाररत छन्,’ उनले भने, ‘जसमध्ये ३ सय १८ जना थारु समुदायका र २ जना अन्य समुदायका छन्। रगत हँसिया जस्तो आकारको हुने भएकाले रक्तसञ्चारमा अवरोध हुन्छ, जसले तीव्र दुखाइ र जटिलता निम्त्याउँछ।’ शिविर उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्राध्यापक डाक्टर रमेश कँडेल, सिकलसेल रोग विशेषज्ञ डाक्टर जेनिश छत्कुली, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउतलगायतको सहभागिता रहेको थियो।

