राप्तीमा माघ २९ गते देखि नसर्ने रोगको निशुल्क स्क्रिनिङ तथा परामर्श शिविर सञ्चालन हुँदै
मसुरिया २८ माघ । दाङको राप्ती गाउँपालिकामा भोलि अर्थात् माघ २९ गतेदेखि नसर्ने रोगको निशुल्क स्क्रिनिङ तथा परामर्श शिविर सञ्चालन हुने भएको छ।
राप्ती गाउँपालिकाको आयोजनामा तथा स्वास्थ्य कार्यालय दाङको समन्वयमा ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी उक्त शिविर सञ्चालन गर्न लागिएको हो। समुदायस्तरमै नसर्ने रोगको समयमै पहिचान गरी उपचार तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाका विभिन्न वडामा शिविर सञ्चालन गरि लागेको हाे। बुधबार राप्ती आधारभूत अस्पताल कालापानीमा समुदायस्तरमा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ अभिमुखीकरण तथा समिति गठन कार्यक्रम स्वास्थ्य शाखा प्रमुख नारायण राउतले साे विषयमा जानकारी गराउका हुन्। स्वास्थ्य शाखा प्रमुख राउतका अनुसार पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मिर्गौला तथा क्यान्सरजस्ता नसर्ने रोग बढ्दो क्रममा रहेकाले समयमै परीक्षण र परामर्श आवश्यक रहेको हाे।
शिविरमा मधुमेह र उच्च रक्तचाप परीक्षण, मिर्गौला सम्बन्धी रोगको प्रारम्भिक पहिचानका लागि पिसाब परीक्षण, उचाइ र तौलका आधारमा बीएमआई मापन, साथै नसर्ने रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी परामर्श, उपचार तथा आवश्यक प्रेषण सेवा प्रदान गरिने शाखा प्रमुख राउतले जानकारी दिए। पहिलो चरण अन्तर्गत शिविर फागुन माघ २९ गते वडा नं. ६ स्थित पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाइ, फागुन १ गते वडा नं. ७ को बड्की सिसहनियाँ आधारभूत स्वास्थ्य केन्द्र, फागुन २ गते वडा नं. ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानी, फागुन ४ गते वडा नं. ८ को सामुदायिक बहुउद्देश्यीय भवन पिपरी र फागुन ५ गते वडा नं. ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन गरिने छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार राप्ती गाउँपालिकामा ३० वर्षभन्दा माथिका करिब २२ हजार जनसंख्या रहेका छन्।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले ३० वर्षमाथिका सबै नागरिकलाई नजिकको शिविरस्थलमा पुगेर सेवा लिन आग्रह गरेका छन्। उनले रोग लागिसकेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हुने उल्लेख गर्दै खानपान र जीवनशैलीकै कारण नसर्ने रोग बढ्दै गएको बताए। अध्यक्ष विष्टले पालिकाका सबै नागरिकलाई स्वस्थ राख्नु नै स्थानीय सरकारको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनले गाउँ–गाउँमा नसर्ने रोगसम्बन्धी जनचेतना फैलाउन, स्वास्थ्य शिक्षा प्रभावकारी रूपमा प्रवाह गर्न र नियमित स्वास्थ्य परीक्षणलाई जीवनशैलीको हिस्सा बनाउन आवश्यक रहेको बताए । समयमै परीक्षण तथा परामर्शले नसर्ने रोगबाट हुने जटिलता कम गर्न सकिने उनको विश्वास छ। अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, वडा नं. ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी, ५ का अध्यक्ष देव प्रसाद चाैधरी र ७ का वडा अध्यक्ष सिताराम चाैधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, राप्ती आधारभूत अस्पतालका मेसु एमडिजिपी डाक्टर सुशील केसी लगायत अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

