शिवसवरी धाममा महाशिवरात्रीका अवसरमा पहिलो पटक अखण्ड कृतन र भण्डारा आयोजना हुँदै
भालुवाङ २८ माघ । लुम्बिनी प्रदेशको राजधानी दाङ–देउखुरीकाे राप्ती गाउँपालिका–५, पहरुवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रमा यस वर्षको महाशिवरात्री पर्व विशेष धार्मिक कार्यक्रमका साथ मनाइने भएको छ । धाममा पहिलो पटक फागुन २ र ३ गते अखण्ड कृतन आयोजना गरिने र फागुन ४ गते भव्य भण्डारा कार्यक्रम सञ्चालन गरिने भएको धामका संरक्षक गुरु शिवलक्ष्मी चौधरीले जानकारी दिएकी छिन् ।
गुरु चौधरीका अनुसार फागुन २ गते साँझ ७ बजे देखि सुरु हुने अखण्ड कृतन २४ घण्टा निरन्तर सञ्चालन भई फागुन ३ गते साँझ ७ बजे सम्पन्न हुनेछ । “महाशिवरात्रीको अवसर पारेर पहिलो पटक धाममा अखण्ड कृतनको आयोजना गर्न लागिएको हो । सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई पुण्य लाभ लिन हार्दिक अनुरोध गर्दछौं,” गुरु चौधरीले भनिन् ।
उनका अनुसार अखण्ड कृतनमा शिव भजन, स्तुति, आरती तथा धार्मिक प्रवचन समेत गरिने छ । धाम परिसरमा विभिन्न स्थानबाट भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । कृतन अवधिभर धाम क्षेत्रमा विशेष सजावट, दीप प्रज्वलन तथा धार्मिक वातावरण सिर्जना गरिने जनाइएको छ । अखण्ड कृतन सम्पन्न भएपछि फागुन ४ गते बिहान देखि भण्डारा कार्यक्रम सञ्चालन हुने छ । भण्डारामा सहभागी सम्पूर्ण भक्तजनलाई प्रसाद वितरण गरिने छ । आयोजक पक्षले कार्यक्रम सफल पार्न स्थानीय बासिन्दा, भक्तजन तथा सहयोगीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।
तपस्यासँग जोडिएको धामको आस्था
शिवसवरी धाम धार्मिक केन्द्र पछिल्लो समय दाङ–देउखुरी क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । धामको स्थापना र विकासमा संरक्षक गुरु शिवलक्ष्मी चौधरीको तपस्या र साधनालाई विशेष महत्वका साथ लिने गरिन्छ ।
गुरु चौधरीले २०८२ कार्तिक ३० गते देखि मंसिर २० गतेसम्म २१ दिन गुफाभित्र कठोर तपस्या गरेकी थिइन् । उनले उक्त अवधिमा अन्न, नुन, जल तथा फलफूल केही पनि ग्रहण नगरी कैलाश निकाल्ने संकल्पसहित तपस्या गरेकाे जनाइएको छ । भूमिपूजासँगै सुरु गरिएको उक्त तपस्यापछि हाल धाम परिसरमा कैलाश निर्माणको काम अगाडि बढिरहेको छ । “धामको आध्यात्मिक शक्ति र आस्थालाई बलियो बनाउने उद्देश्यले तपस्या गरिएको हो । अहिले कैलाश निर्माण कार्य तीव्र गतिमा भइरहेको छ,” गुरु चौधरीले बताइन् । निर्माण कार्यमा स्थानीय भक्तजनको श्रमदान जुटिरहेको धाम व्यवस्थापनले जनाएको छ ।
२०७० सालदेखिको आध्यात्मिक यात्रा
धामसँग जोडिएको अर्को महत्वपूर्ण प्रसंग २०७० साल जेठ २१ गतेको मानिन्छ । धाम पक्षका अनुसार सो दिन शिव प्रभु भगवान तीन वटा पैतला उडेर टेकेर हातमा टुक्रा लिएर आएको अलौकिक घटना भएको दाबी गरिन्छ । उक्त घटनापछि धाम निर्माणको संकल्प गरिएको बताइन्छ ।
गुरु शिवलक्ष्मी चौधरीले त्यसपश्चात् ३१ दिन सम्म गुफाभित्र कठोर तपस्या गरेकी थिइन् । त्यतिमात्र होइन, पाँच वर्षसम्म घरभित्र नसुतेर निरन्तर साधना र उपासना गरेको उल्लेख गरिन्छ । “शिव प्रभु भगवानले विभिन्न लिला देखाउँदै धाम निर्माणको मार्ग प्रशस्त गरिन्,” धाम स्रोतले जनाएको छ । यही आध्यात्मिक यात्राको परिणाम स्वरूप शिवसवरी धामको स्थापना भएको र धाम परिसरमा गंगा स्नानस्थल समेत निर्माण गरिएको बताइन्छ । गंगा स्नानका लागि टाढाटाढाबाट भक्तजन आउने क्रम बढ्दो छ । विशेषगरी साउन महिना, तीज, महाशिवरात्री तथा अन्य धार्मिक अवसरमा यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।
धार्मिक पर्यटनको सम्भावना
राप्ती गाउँपालिका–५ पहरुवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्र पछिल्लो समय धार्मिक पर्यटनको सम्भावित गन्तव्यका रूपमा समेत चिनिन थालेको छ । प्राकृतिक शान्त वातावरण, गुफा, निर्माणाधीन कैलाश तथा गंगा स्नानस्थलका कारण धामले आन्तरिक पर्यटक र भक्तजनको ध्यान आकर्षित गरिरहेको छ ।
स्थानीय बासिन्दाका अनुसार धाममा हुने धार्मिक कार्यक्रमले क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्दै आएको छ । महाशिवरात्री, साउने सोमबार, हरितालिका तीज लगायतका पर्वमा हजारौं भक्तजन उपस्थित हुने गरेका छन् । यस वर्ष पहिलो पटक आयोजना हुन लागेको अखण्ड कृतन कार्यक्रमले धामको धार्मिक महत्व अझ वृद्धि हुने अपेक्षा गरिएको छ । आयोजकले कार्यक्रमलाई व्यवस्थित, मर्यादित र भक्तिमय बनाउन आवश्यक तयारी तीव्र पारिएको जनाएको छ ।
श्रद्धालु भक्तजनलाई निम्तो
धामका संरक्षक गुरु शिवलक्ष्मी चौधरीले महाशिवरात्रीको अवसरमा आयोजना गरिने अखण्ड कृतन र भण्डारा कार्यक्रममा सहभागी भई धर्म–संस्कृति संरक्षणमा साथ दिन सबै श्रद्धालु भक्तजनलाई आग्रह गरेकी छिन्। “महाशिवरात्री शिव भक्तका लागि विशेष पर्व हो । यस अवसरमा हुने अखण्ड कृतनमा सहभागी भई पुण्य आर्जन गर्नुहोस्,” उनले भनिन् ।
धाम व्यवस्थापन समितिका अनुसार कार्यक्रम अवधिभर शान्ति सुरक्षा, सरसफाइ तथा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिनेछ । भक्तजनलाई अनुशासित ढंगले सहभागी हुन तथा धार्मिक आचारसंहिता पालन गर्न अनुरोध गरिएको छ । महाशिवरात्रीको पावन अवसरमा आयोजना हुन लागेको यस अखण्ड कृतन र भण्डारा कार्यक्रमले शिवसवरी धामलाई धार्मिक आस्थाको केन्द्रका रूपमा अझ सुदृढ बनाउने विश्वास आयोजकको रहेको छ ।

