दाङमा ट्रकको ठक्करबाट स्कुटरमा पछाडी सवार छोराको मृत्यु, बुवा घाइते
दाङ १८ माघ । दाङमा बावु र छोरा सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा छोराको मृत्यु भएको छ ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरको पछाडी सवार लमही नगरपालिका–६ का २२ वर्षिय अंकित चौधरीको नम्बर नखुलेको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।लमहीतर्फ गइरहेको स्कुटरलाई सोहि दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले आइतबार दिउँसो ३ बजेतिर घोराही–१५ भिंग्रेली होटेल नजिकै ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए । प्रहरीका अनुसार अंकितका बुवा ५३ वर्षिय झपेन्द्र बहादुर चौधरीले स्कुटर चलाउनुभएको थियो । ट्रकको ठक्करबाट झपेन्द्र पनि घाइते हुनुभएको छ । घाइते झपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आशंकमा ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

